बाँकेमा थप तीन संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेका २ र दाङका १ जना रहेका छन ।
नेपालगन्ज ४ का ५८ वर्षिय महिलाको शनिबार विहान सवा ९ बजे नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १५ गते नर्सिंङ होम नेपालगन्जमा भर्ना भएका उनको १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

यस्तै भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका १ का ४५ बर्षिय पुरुषको शनिबार बिहान १०ः३० बजे मृत्यु भएको छ । १५ बैशाखमा अस्पतालमा भर्ना भएका उनमा १६ गते कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।
त्यसैगरी तुल्सीपुर ६ दाङका ४६ बर्षिय पुरुषको पनि आज दिउसो तीनबजे मृत्यु भएको छ । १३ बैशाखमा भेरी अस्पतालमा भर्ना भएका उनको १४ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । भेरीमा उपचारकैक्रममा उनको मृत्यु भएको हो । योसंगै बाहिरी जिल्लावाट उपचारका लागि आएका ११८ जनाको र बाँकेका १२० जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ ।