बाँकेमै कुष्ठरोगी छाउगोठमा

साइनिङ अस्पताल नेपालगन्जमा उपचार गराइरहेकी पीडित कुष्ठरोगी महिला । फोटो : मेरो खुसी

शंकरप्रसाद खनाल । नेपालगन्ज
बाँकेको बैजनाथ गाउँपालिका–१ की ३७ वर्षीया महिलालाई २०७३ साउनमा कुष्ठरोग लाग्यो। स्थानीय स्वास्थ्य चौकीबाट औषधि ल्याएर लगातार २४ महिना सेवन गरिन्। रोग त निको भयो। तर, त्यो अवधिमा उनले कुष्ठरोगभन्दा ठूलो रोग झेलिन्– दाजुभाउजूबाट विभेद।

‘जुन दिन मलाई रोग लाग्यो भन्ने थाहा भयो। मलाई छाउपडी गोठमा बस्न पठाइदिए’, उनले हालै भनिन्, ‘नछुने हुँदा भाउजूहरू र म पहिले त्यही गोठमा सुत्थ्यौं। म रोगी भएपछि त्यहीं बसें।’
कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा यता कुष्ठरोग लाग्दा पनि छाउगोठमा बस्न बाध्य भइन्। ‘कुष्ठरोगको औषधि पहिलो पटक खाँदा नै रोग सर्दैन भनेर सरहरूले भन्नुभएको कुरा मैले दाजुभाउजूलाई सुनाएँ। तर, विश्वास नै गरेनन्’, उनले भनिन्।

एक दिन भात छोएको दिनको घटना उनले सम्झिन्, ‘कान्छी भाउजू बासी भात तताएर खाने भनेर आगोमा बसालेर बाहिर जानुभयो। जल्न लाग्यो भनेर मैले चलाएँ। मैले छोएको भनेर भाउजू खाना नखाएरै सुत्नुभयो। त्यस दिनदेखि मलाई भतिजाभतिजीभन्दा टाढा बस्न भनियो।’

घरदेखि झन्डै ५० मिटर दूरीमा खरको छानो भएको, माटोको भित्ताको एककोठे छाउपडी गोठ छ। घरनजिकै जंगल भएकाले राति सुत्दा डर लाग्थ्यो। रोग निको भइसक्दा पनि दाजुभाउजूले विभेद गरेपछि उनी केही दिन बहिनीको घरमा बसिन्। दुई महिनादेखि भने नेपालगन्जस्थित साइनिङ अस्पतालमा बसिरहेकी छन्। ‘यहाँबाट फर्केर पनि दाजुभाउजूसँग बस्दिनँ। बहिनीकै घरमा जान्छु’, उनले भनिन्।

अस्पतालका प्रबन्धक श्याम बीकेले ‘तपाईंलाई निको भइसक्यो’ भन्दा परिवारको अपहेलनाका कारण उनले घर फर्कन नमानिरहेको बताए। ‘हाम्रा साथीहरूले दाजुभाउजूलाई काउन्सिलिङ पनि गर्नुभएको छ’, बीकेले भने।

कुष्ठरोग लागेर विभेदको सामना गर्ने उनी एक्ली होइनन्। वैजनाथ गाउँपालिकाको टिटिहिरिया गाउँकी ३५ वर्षीया महिलालाई उनका पतिले सम्बन्धविच्छेद गर्न लागेको जनाइएको छ। ‘छोरीछोरी मात्र जन्माइस् भनेर पहिलेदेखि हेला गर्थे। छोरा चाहियो रे १ कुष्ठरोग लागेपछि रोग सर्छ भनेर बूढाले छोडपत्र गर्न लागेका छन्’, उनको भनाइ अस्पतालकी सिनियर पारामेडिकल जयसरा बुढाले उद्धृत गरिन्।

नेपालगन्ज उपमहानगरपालिका–१ की ३५ वर्षीया अर्की महिलाले त यही विभेदको शिकार हुने डरले परिवारलाई थाहै नदिई औषधि सेवन गरिन्। उनका पति विदेशमा थिए। स्वदेश नफर्किँदै उनी निको भइन्। कन्ट्याक्ट टे«सिङका क्रममा स्वास्थ्यकर्मीको टोली घर पुग्दा उनले आपूm कुष्ठरोगी भएको कुरा परिवारलाई नबताइ दिन आग्रह गरेकी थिइन्।
कुष्ठरोगीको उपचारमा संलग्न यौन तथा छाला रोग विशेषज्ञ डा.बद्री चापागाईं अधिकांश कुष्ठरोगीले पहिचान नखुलाउने बताउँछन्। ‘कुष्ठरोग लागेकाबारे धेरैले त विश्वास नै गर्दैनन्। होइन होला भनेर टार्न खोज्छन्’, डा.चापागाईं भन्छन्, ‘रोग पुष्टि भएपछि सामाजिक अपहेलना हुने डरले उनीहरू पहिचान लुकाउँछन्।’

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले कुष्ठरोगीलाई अपहेलना हुने गरेको बताए। ‘पहिलो डोज औषधि सेवन गर्ने बित्तिकै अरूलाई रोग सार्ने खतरा ९९ प्रतिशत हटेर जान्छ। संक्रमणको अवस्था हेरेर कम्तीमा ६ महिनादेखि १२ महिना वा बढीमा २४ महिनासम्म औषधि सेवन गर्दा पूर्ण रूपमा रोग निको हुन्छ’, शाहले भने।

बाँकेमा हरेक तीनरतीन दिनमा एक जना नयाँ कुष्ठरोगी फेला परिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले पछिल्लो १८ महिनामा जिल्लामा १ सय ८६ जना कुष्ठरोगीको पहिचान भएको बताए। नेपालीका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा १ सय ३३ र चालू आर्थिक वर्षको पुस मसान्तसम्म ५३ जना रोगीको पहिचान भएको छ। लुम्बिनी प्रदेशमा कुष्ठरोेगको प्रकोपदर सबैभन्दा बढी छ। अघिल्लो वर्ष २।२१ प्रतिशत र चालू आवको ६ महिनामा १।७२ प्रतिशत छ।

हरेक स्थानीय तहका सबै स्वास्थ्य संस्थामै निःशुल्क औषधि पाइन्छ। अंगभंग भएका जटिल रोगीको भने साइनिङ अस्पताल नेपालगन्जमा उपचार हुन्छ। आईएनएफका पदम बुढाले गत वर्ष बाँकेका ५९ अनि झन्डै दर्जन जिल्लाका १ सय ४५ जना नयाँ कुष्ठरोगीको उपचार गरिएको बताए। ०६९ सालदेखि अहिलेसम्म अस्पतालले बाँकेका मात्र १ हजार ३ सय ७४ कुष्ठरोगीको उपचार गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो १८ महिनामा जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी जानकी गाउँपालिकामा ४३ जना छन् भने सबैभन्दा कम राप्ती सोनारीमा ६ जना। नेपालगन्ज उपमहानगरपालिकामा ३६, बैजनाथ गाउँपालिकामा २४, खजुरा गाउँपालिकामा २२, कोहलपुर नगरपालिकामा २०, डुडुवा गाउँपालिकामा १९ र नरैनापुर गाउँपालिकामा १५ जना छन्। स्रोत : अन्नपूूर्ण पोस्ट् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *