बाँकेमा ८ स्थानीय तहले कोरोना महामारीमा गत वर्ष के गरे, अहिले के गर्दैछन् ?

नेपालगन्ज उपमहानगरपालिका १८ ले होम आइसोलेसनमा बसेका संक्रमितलाई दिएको घरघरमै डाक्टर सेवा । फोटो : दीपक वर्माको फेसबुकबाट

विमला चौधरी । नेपालगन्ज
बाँकेका जनप्रतिनिधिहरुले गत वर्ष कोरोना महामारीको रोकथामका लागि प्रयास गरे । नेपालगन्जको जमुनाहा नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने आफ्ना पालिकाका नागरिकलाई लिन सबै पालिकाका प्रमुख लगायतका जनप्रतिनिधिहरु नाकामै पुग्ने गर्थे । नाकामा सामान्य स्वाथ्य परीक्षणपछि सिधै पालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखे । त्यहाँ उनीहरुका लागि दुई हप्तासम्म खाना, ओढ्ने ओछ्याउने तथा लगाउने कपडाको समेत ब्यवस्था गरेको जनप्रतिनिधिहरु बताउँछन् । यसो गर्ने क्रममा गत वर्ष कयौं जनप्रतिनिधि संक्रमित भएका थिए । गत वर्ष समुदायमा कोरोना भाइरस फैलिन नदिन नाकाबाटै सावधानी अपनाएर क्वारेन्टाइनमा ल्याएर राख्ने गरिएको तर यस वर्ष पालिका अन्तर्गतका संक्रमितलाई आइसोलेसनमा ल्याएर राख्ने काम गरिरहेको बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
भारतीय सिमानासँग जोडिएको जिल्ला भएकाले पनि दोस्रो लहरको कोरोना भाइरसले बाँकेलाई बढी असर गरेको जनप्रतिनिधिहरुको भनाई छ । नेपालगन्जको जमुनाहा नाकाहुँदै नेपालीहरु ओहोरदोहोर गर्ने क्रम नरोकिएकाले कोरोना भाइरस समुदाय स्तरसम्म भुसको आगो जस्तै सल्किएको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बताइन् । उनले भनिन् – ‘एकाएक गाउँटोलमा धेरै मानिसहरु बिरामी भएर अस्पताल आउन थालेपछि संक्रमण रोकथामभन्दा पनि बिरामीको उपचार सहज होस भन्नेतर्फ लागेका छौं ।’ पछिल्लो समय नाकामै एन्टीजेन परीक्षण गरेर मात्र प्रवेश गराइरहेको र त्यहाँ पहिचान भएका संक्रमितहरुका लागि नेपालगन्ज उपमहानगरपालिकाले आइसोलेसनको व्यवस्था गरेको उप मेयर थापाले बताइन् । तर अहिले सबैतिर संक्रमण फैलिसकेको र अब थप फैलिन नदिन सावधानीसँगै जटिल अवस्थाका संक्रमितको सहज उपचार आवश्यक रहेको उनको भनाइ छ । ‘एउटा संक्रमित पत्ता लागेपछि उसको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गर्ने गत वर्षको जस्तो अवस्था छैन, सबैतिर लक्षण चिन्ह देखिएका बिरामी छन्, उनले भनिन्– अहिले पहिलो प्राथमिकता भनेको बिरामीको उपचार हो ।’

दोस्रो लहरको कोरोना महामारीले बाँकेमा भयावह रूप लिएपछि यतिबेला अस्पताल भरिभराउ छन् । बेड नपाएर अधिकांश संक्रमित घरै बसेका छन् । जटिल अवस्थाका संक्रमितले समेत बेड पाउन पालो कुर्नुपर्छ । बिरामीको चाप बढ्न थालेपछि बाँकेका सबै स्थानीय सरकारले अक्सिजनसहितका आइसोलेसन केन्द्र स्थापना गरेका छन् । पालिकाको विपद कोषबाट खर्च हुने गरी आइसोलेसन सेन्टर स्थापना गरिएको जनप्रतिनिधिहरु बताउँछन् ।
बाँकेका आठ ओटै पालिकाले हालसम्म ४ सय ७१ बेडका आइसोलेसन केन्द्र स्थापना गरेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाले २१०, कोहलपुर नगरपालिकाले ६५, खजुरा गाउँपालिकाले ४०, नरैनापुर गाउँपालिकाले ५०, राप्ती सोनारी गाउँपालिकाले ४०, जानकी गाउँपालिकाले ३०, बैजनाथ गाउँपालिकाले २० र डुडुवा गाउँपालिकाले १६ बेडका आइसोलेसन केन्द्र स्थापना गरेका छन् । बाँकेका सबै पालिकाले आफ्ना पालिकामा रहेका एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स, कार्यालय सहयोगीलाई आइसोलेसनमा खटाएको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले भने भेरी अस्पताल नेपालगञ्जकै चिकित्सकहरुको निगरानीमा आइसोलेसन सञ्चालन गरिरहेको छ । सीमा नाकामा परीक्षण गर्न, इन्द्रेनी होटल तथा ह्वाइट हाउसमा सञ्चालन गरिएका आईसोसनमा काम गर्न कारारमा स्वाथ्यकर्मी नियुक्त गरेर खटाइएको जनाएको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) को केही समय अगाडि बसेको बैठकमा संयुक्त रुपमा अस्पताल सञ्चालन गर्न वा भइरहेका अस्पतालको स्तरोन्नती गर्न सघाउ पु¥याउने विषयमा छलफल भए पनि कोरेना महामारी चालु आर्थिक वर्षको अन्त्यतिर फैलिएकाले बजेट विनियोजनमा समस्या देखिएको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बताए । ‘अहिले जिल्लाका सबै पालिकाले एक्लाएक्लै गरेको प्रयास पनि सह्रानीय छ, उनले भने, ‘आवश्यक जनशक्ति नियुक्त गरेर परिचालन गर्नसके अझ प्रभावकारी हुन्छ ।’

एम्बुलेन्ससहितको आइसोलेसन
कोहलपुर नगरपालिकाले प्रेमनगरको आयुर्वेदिक प्राकृतिक चिकित्सालयमा १५ र पिपरीस्थित कृषि तालिम केन्द्रमा ५० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । अक्सिजनसहित १५ बेडको आइसोलेसन सञ्चालन गरेर कतिपय संक्रमितहरु उपचारपछि घर फर्किइसकेको उपमेयर सन्जुकुमारी थारुले बताइन् । ‘स्वाथ्यकर्मी, एम्बुलेन्ससहितको कोभिड अस्पताल स्थापना गरेर अस्पतालमा बेड नपाएका संक्रमितहरुको चौबीसै घण्टा उपचार गरिरहेका छौं ।’ उनले भनिन् – अहिलेसम्म ९ जना बिरामी उपचारपछि घर फर्किएका छन्, १८ जना उपचाररत छन् ।
कोरोना महामारीबाट बाँके भयावह स्थितीमा पुगेका बेलासमेत केन्द्र र प्रदेश सरकारले चासो नदिएको उनले बताइन् । हालसम्म जे जति प्रयास भएको छ, सबै स्थानीय सरकारले मात्र गरेको छ, उपमेयर सन्जुले भनिन् – ‘संक्रमतिहरुको जिउ ज्यान अब स्थानीय सरकारकै हातमा छ । त्यसैले हामी अहोरात्र उपचारको व्यवस्था मिलाउन खटिएका छौं ।’ गत वर्ष कोभिड १९ बारे जनचेतना कार्यक्रम, कोरोना प्रभावित देशबाट आउनेहरुलाई क्वारेन्टाइन, संक्रमितहरुलाई राख्ने आइसोलेसन भवनको ब्यवस्थापन खर्च, कोरोना प्रभावित विपन्नलाई दुई चरणमा राहत वितरण लगायतका काममा कोहलपुर नगरपालिकाले करिव एक करोड खर्च गरेको उपमेयर थारुले बताइन् । कोहलपुर नगरपालिकाले हाल लक्षण देखिएका बिरामीको पीसीआर परीक्षण निःशुल्क गरिरहेको जनाएको छ ।

भेरीका चिकित्सकहरुको निगरानीमा ५० बेडको आइसोलेसन
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरु पनि गत वर्ष जमुनाहा नाकाहुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई खाने बस्ने कुराको व्यवस्थापनमै लागेका थिए । यस वर्ष उपमहानगरपालिकाले नाकामै संक्रमण पुष्टि भएकाहरुको उपचारका लागि आइसोलेसन सेन्टर चलाएको छ । जमुनाहा नाकामा जाँच गर्दा संक्रमित पुष्टि भएकाहरुका लागि मनिकापुरस्थित ह्वाइट हाउसमा १२० तथा अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बस्न बाध्य नेपालगन्जवासीहरुका लागि होटल इन्द्रेनीमा ५० र रामलीला मैदानस्थित नारी विकासको तालिम केन्द्रमा अक्सिजनसहितको ३० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । यस्तै, नेपालगन्जको वडा नम्बर– ४ मा पनि १० बेडको आइसोलेसन सेन्टर चलाइएको छ ।

सामान्य लक्षणसहितका बिरामीलाई ह्वाइटहाउसस्थित आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ भने रामलीला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालनमा छ । उक्त आइसोलेसन भेरी अस्पतालका चिकित्सकहरुको निगरानीमा रहेको बताइएको छ । ‘कोभिडका बिरामीलाई अक्सिजनसहित आइसोलेसनमा राख्न थालिएको छ,’ मेयर डा. धवलशमशेर राणाले भने, ‘अस्पतालमा बेड नपाइरहेका बेला यस्ता आइसोलेसन सेन्टरले बिरामीलाई राहत मिल्ने अपेक्षा गरेका छौँ ।’ गत वर्ष कोरोना भाइरस सबैका लागि नयाँ भएकोले आत्तिएर जसले जे भन्यो त्यसमै बजेट खर्च गरेको मेयर राणाले बताए । उनले भने – ‘कोभिडकै नाममा उपमहानगरले ३ करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । यस वर्ष धेरै सहयोगी हात पाएका छौं । कति खर्च हुन्छ हेर्दै जाउँ ।’

खजुरामा ५० बेडको आइसोलेसन
खजुरा गाउँपालिकाले पनि ४० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रमा ३० र राधापुरमा १० बेडका अक्सिजनसहितका आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । गत वर्ष खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको लगानीमा कोरोना अस्पताल स्थापना गरिएकाले खजुरावासीलाई पनि उपचारमा सहज भएको तर यस वर्ष गाउँपालिकाकै लगानीमा आइसोलेसन केन्द्र स्थापना गरिएको अध्यक्ष कक्षपतिले बताए । ‘क्वारेन्टाइन ब्यवस्थापन र दुई चरणमा राहत वितरण गर्दा गत वर्ष गाउँपालिकाको एक करोड जति खर्च भएको थियो, उनले भने –यस वर्ष विपद कोषबाट खर्च गर्ने गरि आइसोलेसन केन्द्र सञ्चालन गरेका छौं ।’

बैजनाथमा २० बेडको कोभिड अस्पताल

बैजनाथ गाउँपालिकाले २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ  । एक जना एमबीबीएस डाक्टर र दुई जना नर्सले सेवा दिने गरि अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको गाउँपालिका प्रमुख मानबहादुर रुचाल ठकुरीले बताए । ‘आवश्यक परे गाउँपालिकाभित्र रहेका टिटिहिरिया, चिसापानी र नौबस्ता स्वास्थ्य चौकीमा अक्सिजनसहितको पाँच–पाँच बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय भएको छ,’ उनले भने । यस्तै बैजनाथले गनापुरस्थित खुला कारागारलाई ५० बेडको आइसोलेसन सेन्टर बनाउने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले बताए ।

यसैगरी जानकी गाउँपालिकाले पनि हाल ५ वटा अक्सिजनसहित ३० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । आवश्यकता अनुसार ५० बेड र अक्सिजन थप्दै जाने गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए । ‘गत वर्ष क्वारेन्टाइनबाटै मानिसहरु भागेर जाने समस्या थियो, यस वर्ष जटिल अवस्थाका संक्रमितहरु अस्पतालमा बेड नपाएर छटपटिएका छन् ।’ अध्यक्ष यादवले भने– स्थानीयको उपचार सहज बनाउन आइसोलेसन केन्द्र स्थापना गरेका छौं । गत वर्ष कोभिडबारे सचेतना र क्वारेन्टाइन ब्यवस्थापनमा करिब ७५ लाख खर्च गरेको अध्यक्ष यादवले जानकारी दिए ।

डुडुवामा १६ शैयाको आइसोलेसन
बाँकेको डुडुवा गाउँपालिकाले पनि सन्तलिया गाउँस्थित बहुउद्देसीयय भवनमा १६ शैयाको आइसोलेसन केन्द्र तयार पारेको छ । कोभिडको संक्रमणबाट गम्भीर बिरामीहरुको उपचार सुरु गर्ने गरि आइसोलेसन केन्द्र तयार पारिएको हो । आइसोलेशन वार्डमा अक्सिजन, अक्सिजन सक्सन कन्सन्टे«ड, अक्सिजन ऐलीडन्ट सक्सन मेसिन, अक्सीमिटर, स्वास्थ्य सरसफाईका सामग्रीसहितको सुविधा सम्पन्न वार्ड तयार गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए । उनका अनुसार गाउपालिकाभित्र कोभिड संक्रमणका विरामीलाई राखेर उपचार गरिनेछ भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।

गाउँपालिकाले पीसीआर जाँचका लागि बेतहनी स्वास्थ्य चौकीमा स्वाब संकलन गरिरहेको छ । कोरोना संक्रमित बिरामीहरुलाई औषधी, आइसोलेसन वार्ड, स्वाब संकलन, हेल्थ डेक्स, एम्बुलेन्स लगायतका सेवा दिइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । गाउँपालिकाले सिमानामा तीन ठाउँमा हेल्थ डेस्क स्थापना गरि आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

राप्ती–सोनारीमा खर्च धेरै 
राप्ती–सोनारी गाउँपालिकाले कचनापुरमा १५, शाहीपुरमा १५ र फत्तेपुरमा १० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए । राप्तीसोनारी अस्पतालभित्र ५ बेड आइसोलेसनका लागि छुट्याइएको पनि प्रमुख शर्माले बताए । गाउँपालिकाका अध्यक्षसहित १६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको र उनीहरू कचनापुरस्थित आइसोलेसन केन्द्रमा बसेर स्वास्थ्य लाभ लिए । राप्ती सोनारी गाउँपालिकाले आपूmले गत वर्ष कोभिडका नाममा बाँकेका पालिकामध्ये सबैभन्दा बढी खर्च गरेकोको जनाएको छ । गत वर्ष कोरोनाकै कारण लकडाउन लम्बिएपछि काठमाडौं, काभ्रे, पोखरा, विराटनगरलगायत पूर्वी जिल्लामा मजदुरीका लागि गएका बर्दिया र सुदूरपश्चिमका हजारौं मानिसहरु राजमार्गबाट उद्दार गरेर ल्याउँदा धेरै खर्च ब्यहोरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । ‘जनसंख्याको हिसाबले देशकै ठूलो गाउँपालिका पनि प¥यो अध्यक्ष थारुले भने –उद्धार, राहात, जनचेतनासँगै मास्क सेनिटाइजर वितरण र क्वारेन्टाइन ब्यवस्थापनका लागि गत वर्ष करिव ७ करोड खर्च भएको थियो । ’ गत वर्ष राप्ती सोनारी गाउँपालिकाले सबैभन्दा सुविधा सम्पन्न क्वारेन्टाइन स्थापना गरेको उपाध्यक्ष धनीकुमारी खत्रीको दाबी छ । ‘पालिकाका नौ वटै वडामा स्थापना गरिएका क्वारेन्टाइनमा ब्रस, मन्जन, चप्पल र लगाउने नयाँ कपडाको समेत ब्यवस्था गरेका थियौं’, उपाध्यक्ष खत्रीले भनिन् ।

गत वर्ष कोरोनाको हटस्पट बनेको नरैनापुर गाउँपालिकाले यस वर्ष लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा २५ र नेरा प्रावि लक्षमणपुरमा २५ बेडको आइसोलेसन चलाएको स्वास्थ्य शाखा प्रमुख नागेन्द्र यादवले बताए । उनले प्राथमिक स्वाथ्य केन्द्रमा रहेको आइसोलेसनमा २५ वटा अक्सिजनको व्यवस्था गरेर उपचार भइरहेको बताए ।

स्वास्थ्य मापदण्ड विपरित आइसोलेसन 
स्थानीय सरकारले सञ्चालन गरेका आइसोलेसन स्वास्थ्य मापदण्ड विपरित छन् । बाँकेका अस्पतालमा संक्रमितको संख्या अनुसार स्वाथ्यकर्मीको अभाव भइरहेका बेला सबै पालिकाले आफ्नै हिसाबले आइसोलेसन स्थापना गर्दा प्रभावकारी नहुने भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालले बताए । बिरामीको अवस्था अनुसार औषधी चलाउनु पर्ने, छातीको एक्सरेपछिको उपचार र अक्सिजनको मात्रा पनि अवस्था हेरेर दिनुपर्ने भएकोले प्रत्येक आइसोलेसनमा विशेषज्ञ डाक्टरको आवश्यकता पर्ने डाक्टर रिसालको भनाइ छ । ‘अक्सिजनसहित बेडको ब्यवस्था गरेर मात्र हुँदैन’, उनले भने –कोभिडका अधिकांश बिरामीलाई फोक्सोको समस्या देखिएकोले तत्काल छातीको एक्सरे गरी त्यसको रिपोर्ट हेरेर औषधी चलाउनुपर्ने अवस्था हुनसक्छ । यो उपचार पालिकामा स्थापना गरिएका आइसोलेसनबाट कसरी गर्न सकिन्छ ? बाँकेमा कोरोना संक्रमितको उपचार भइरहेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अधिकांश स्वाथ्यकर्मी संक्रमित भएपछि स्वास्थ्यकर्मीको अभाव झेलिरहेको भेरी अस्पतालका प्रमुख, डा. प्रकाशबहादुर थापाले बताए । अस्पतालमा बेड र अक्सिजन नपाएर बिरामीको मृत्यु हने समस्या देखिएपछि आआफ्नै पालिकामा आइसोलेसन कक्ष सञ्चालन गरिएको जनाप्रतिनिधिले बताएका छन् । स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा भर्ना भएका बिरामीहरु अवस्था जटिल भएपछि भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा रिफर गर्ने गरिएको छ । स्रोत : नीतिपात्रो डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *