जोखिम भत्ता बिना शव व्यवस्थापन गर्ने सेनाहरु

सरकारले संक्रमितसँग नजिक रहेर काम गर्ने कर्मचारीलाई शत्प्रतिशत भत्ता दियो तर शव व्यवस्थापनमा खटेका सैनिकहरुलाई भत्ताबाट बञ्चित गरियो
सलाम सैनिक : बाँकेमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटेको नेपाली सेनाको राँझास्थित भैरवप्रसाद गणका सह–सेनानी विक्रम चौधरीसहितको १५ सदस्यीय टोली । फोटो : शंकरप्रसाद खनाल

शंकरप्रसाद खनाल । नेपालगन्ज

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्छ भन्ने धेरैलाई थाहा छ । जोखिमपूर्ण यो काम गर्ने सैनिक टोलीलाई धेरैले स्यालुट गर्छन् । ढिलो शव व्यवस्थापन गरेको भन्दै गाली गर्ने पनि छन् । बाँकेका अस्पतालमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न नेपाली सेनाको राँझास्थित भैरवप्रसाद गणको एउटा सानो टिम छ । जसले एक वर्षदेखि दिनरात नभनेर काम गरिरहेको छ ।

सह–सेनानी विक्रम चौधरी

एक वर्षअघिदेखि ६ सदस्यीय शव व्यवस्थापन टिमको कमाण्डर हुन्, सह–सेनानी विक्रम चौधरी । जमदार सुधीर मल्ल, प्युठहरु, जगराम सिंह ठगुन्ना, दानबहादुर लामा, जगदीश भण्डारी र भीमबहादुर खत्रीले सुरुका दिनमा काम गरेका हुन् । केही महिनापछि सिपाही सूर्यबहादुर थापा, लीलबहादुर विष्ट पनि जोडिए । एक वर्षसम्म यही टोलीले बाँके र बर्दियाका शव व्यवस्थापन धान्यो । उनीहरु एक सिफ्टमा मात्र काम गर्थे । संक्रमितको मृत्यु हुने बित्तिकै दिनरात नभनी काम गर्थे । २०७८ वैशाखदेखि संक्रमितको मृत्यु बढेकाले यो टिममा जमदार मनोज ठकुरी, अमलदार महेश लावत, प्युठद्वय शिवकुमार मिजार र प्रकाश आले पनि टोली सदस्यमा थपिएका छन् । चालक डिल्लीबहादुर विक सैनिक नभए पनि खटेका छन् । अहिले शव व्यवस्थापनका लागि दुई सिफ्टको टोली बनेको छ । सैनिक टोलीले २ सय ५० भन्दा बढी शव व्यवस्थापन गरिसकेको छ ।

‘कोरोनाको डरभन्दा पनि राज्यले दिएको जिम्मेवारीलाई हामीले ठूलो मानेका छौं’, सहसेनानी चौधरी अनुभव सुनाउँछन्, ‘हामीले गर्नैपर्छ । सेनाले नगरे कसले गर्छ । हामी बाहेक अरु कोही पनि छैन भनेर दिएको काम स्वास्थ्य मापदण्ड पालना गर्दै पूरा गरेका हौं ।’

अस्पताल, आइसोलेसन वा घरमा मृत्यु भएका कोरोना संक्रमितको शव सेनाको यही टोलीले गर्छ । हिन्दुहरुको घाटमा लगेर जलाउँछ । सुरुसुरुमा सैनिक टोलीले नै जलाउँथ्यो । अहिले भने परिवारका सदस्यलाई चिता बनाउन लगाएर सेनाले शवलाई चितामाथि राखिदिन्छ । मुस्लिम, किश्चियन र बौद्धिष्टहरुले गाड्ने भएकाले उनीहरुले भनेकै स्थानमा शव लगेर सोही धार्मिक परम्परा अनुसार शवको अन्तिम संस्कार गरिन्छ  । शव व्यवस्थापनमा खटेको टोलीले मृतकलाई अन्तिम सलामी पनि अर्पण गर्छ । बाँकेका लागि राप्ती नदीको सिधनिया घाट र बर्दियाका लागि मान खोलाको किनारमा शव जलाउने प्रबन्ध मिलाइएको सेनाले जनाएको छ ।

गत वर्ष सरकारले कोरोना संक्रमितसँग नजिक रहेर काम गर्ने (आइसोलेसनमा खटिने, स्वाब संकलन गर्ने) लगायतका काम गर्ने कर्मचारीलाई शत्प्रतिशत भत्ताको व्यवस्था गरेको थियो । तर, दिनरात केही नभनी कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटेका सैनिकहरुले भने यस्तो भत्ता पाएनन् ।

भैरवप्रसाद गणका गणपति नकुल थापा भन्छन्, ‘भत्ता नै पाउनुपर्छ भनेर हामीले काम गरेका होइनौं । राज्यले दिएको जिम्मेवारी निर्वाह गरेका हौं । एउटै क्षेत्रमा काम गर्नेलाई सरकारले प्रोत्साहन गरिरहँदा शव व्यवस्थापनमा खटेका सैनिकलाई पनि यस्तो भत्ता उपलब्ध गराउँदा उनीहरुको मनोबल उच्च हुन्थ्यो ।’

नेपाली सेनाले भने यसरी खट्ने सैनिकलाई प्रधान सेनापति पदक दिएको छ । शव व्यवस्थापनको कमाण्डर सह–सेनानी विक्रम चौधरी, जमदार सुधीर मल्ल, प्युठहरु, जगराम सिंह ठगुन्ना, दानबहादुर लामा, जगदीश भण्डारी र भीमबहादुर खत्रीलाई पदक प्रदान गरिएको छ । चौधरी भन्छन्, ‘शव व्यवस्थापनमा खटेका अरुलाई पनि प्रधान सेनापति पदक र राष्ट्रपतिबाट प्रदान गरिने पदकका लागि सिफारिस गरिएको छ ।’ धेरैले सेनाको यो कामको प्रशंशा गरे पनि हिडन हिरोहरुलाई कसैले सहयोग गरेको छैन । पल्टनमै खाना र नास्ता खान्छन् । राज्यले दिएको जिम्मेवारीलाई ड्यूटीको रुपमा निर्वाह गरिरहेका छन् ।

सुरु सुरुमा बाँकेमा शव व्यवस्थापन गर्ने स्थान खोज्न पनि हम्मेहम्मे हुन्थो । शव लिएर गयो । स्थानीयको विरोध हुन्थ्यो । शवबाट पनि कोरोना सर्छ भन्ने धेरैलाई डर थियो । यति धेरै शवको व्यवस्थापन गरिसकेका सैनिक कसैलाई पनि कोरोना संक्रमण भएन । एक वर्षदेखि शव व्यवस्थापनमा खटेका प्युठ दानबहादुर लामा अनुभव सुनाउँछन्, ‘स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने कोरोनाको जोमिख हुँदैन । लापरबाही गर्दा मात्र कोरोना सर्ने हो ।’ सिपाही लीलबहादुर विष्ट त कोरोनाको जोखिम मोलेर ड्युटी गर्न पाएकोमा गर्व गर्छन् । ‘हुन त हाम्रो यो ड्युटी नै हो । अस्पतालदेखि मसानघाटसम्म सबै सबैले यस्तो सेवा गर्न पाउँदैनन् । नेपाली सेना भएर यो काम गर्न पाएकोमा मलाई गर्व छ ।’

जसले प्रधान सेनापति पदक पाए : नेपालगन्जको राँझास्थित नेपाली सेनाको भैरवप्रसाद गणका सह–सेनानी विक्रम चौधरी, सुधीर मल्ल (जमदार), प्युठहरु जगराम सिंह ठगुन्ना,  दानबहादुर लामा, जगदीश भण्डारी र भीमबहादुर खत्रीले बाँकेमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा उच्च योगदान गरे वापत नेपाली सेनाको प्रधान सेनापति पदक पाएका छन् । फोटो : शंकरप्रसाद खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *