बाँकेमा अक्सिजन खरिद मूल्य ४००, बिक्री ९१५

भेरी अस्पताल नेपालगन्जको अक्सिजन सप्लाइ । फोटो : मेरो खुसी

शंकरप्रसाद खनाल । नेपालगन्ज
प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजार सम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो। तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले भेरी अस्पताललाई लामो समयदेखि ९ सय १५ रुपैयाँमा बेच्दै आइरहेको छ। यो महामारीमा प्राणवायु अक्सिजनकै कालोबजारी गरेर उसले सय प्रतिशतभन्दा बढी मुनाफा कमाइरहेको छ।
जयेशका सञ्चालक राजीव तेलंगाका अनुसार उक्त कम्पनीले नेपालगन्ज परसपुरस्थित एचओ अक्सिजन ग्यासबाट प्रतिसिलिन्डर ४ सयमा खरिद गर्छ। त्यही अक्सिजन भेरी अस्पताललाई ९ सय १५ रुपैयाँमा बेच्ने गरेको तेलंगाले खुलस्त बताए। तेलंगाका अनुसार उक्त ट्रेडिङले सानो सिलिन्डर २ सय ५० रुपैयाँमा किन्छ। त्यसलाई उक्त अस्पताललाई ५ सय १५ मा बेच्छ। दुवै आकारका सिलिन्डरमा दोब्बरभन्दा बढी मूल्य लिने गरेको छ।
त्यही सप्लायर अर्थात् जयेशले नै बाँकेकै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई भने प्रतिसिलिन्डर १५ रुपैयाँ मात्र नाफा खाएर बेचिरहेको छ। शिक्षण अस्पतालका प्रबन्ध सञ्चालक डा.सुरेशकुमार कनोडियाले प्रति सिलिण्डर ४ सय १५ रुपैयाँमा खरिद गरिरहेको बताए। उनले भने, ‘त्यही अक्सिजन ल्याउन पनि रातदिन कर्मचारी खटाउनु परेको छ।’
सप्लायर्सले महेन्द्रनगर पठाउँदा ८ सय ९५ तथा धनगढी र दाङलाई ८ सय १० रुपैयाँ लिने गरेको छ। रुपन्देहीमा लोड अनलोड बाहेकको ७ सय ५० रुपैयाँ मूूल्य तोकिएको छ। भेरीमा भने अचाक्ली महँगो मूल्य राखिएको छ। चैतमा उक्त सप्लायर्सले भेरीमा सानो ३५ समेत एक हजार ८ सय ६० सिलन्डर अक्सिजन आपूर्ति गरेको छ। चैतमा मात्र उसले थोक मूल्यभन्दा ९ लाख ४९ हजार १ सय ५० रुपैयाँ बढी लिएको छ।
त्यस्तै वैशाखको १५ गतेसम्म सानो ५५ सहित ३ हजार तीन सय ३८ सिलिण्डर पठाएको छ। यस अवधिमा १६ लाख ८६ हजार ८ सय ४५ रुपैयाँ बढी लिएको देखिन्छ। गत वर्ष मंंसिर यताको रकम जोड्ने हो भने अस्पताललाई ठूलो मात्रामा नोक्सानी भएको देखिन्छ।
तेलंगाका अनुसार धनगढीदेखि रुपन्देहीसम्म ग्यास ढुवानी गर्दा पनि प्रतिसिलिण्डर एक सय ५० रुपैयाँ खर्च हुन आउँछ। अक्सिजन गाडीमा लोड अनलोड (चढाउने र झार्ने) कार्यमा प्रतिसिलिण्डर थप ६० रुपैयाँ लाग्छ। भेरी सबैभन्दा पायक र नजिक दूरीको हो। त्यसमै सबैभन्दा महँगो मूल्य परिरहेको छ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापा अक्सिजन उत्पादक कम्पनीको एकाधिकार रहेकाले महँगो पर्न गएको बताउँछन्। टेण्डर प्रक्रियामा जाँदा सबैभन्दा सस्तो मूल्य दिनेलाई टेण्डर दिएको उनको भनाइ छ। उनले भने, ‘टेन्डरमा जानुअघि ९ सयभन्दा बढी मूल्य भनेका थिए। टेण्डरमा जाँदा पनि सबैभन्दा सस्तो ९ सय १५ परेकाले स्वीकृत गरिएको हो।’

मिलेमतोमा टेन्डर
भेरी अस्पतालले ८ मंसिर ०७७ मा अक्सिजन आपूर्तिसम्बन्धी टेन्डर आह्वान गर्दै नेपालगन्जको एक स्थानीय पत्रिकामा सूचना प्रकाशन गरेको थियो। १० पुसमा टेन्डर स्वीकृत गर्दा जय हार्डवेयर ट्रेडर्सले ठूलो अक्सिजन प्रतिसिलिन्डर ९ सय ५० र सानोलाई ५ सय ३५ रुपैयाँ मोल राखेको थियो। अर्को नवज्योति इन्टरप्राइजेजले ठूलोलाई ९ सय ३५ र सानोलाई ५ सय ४० देखाएको थियो। सबैभन्दा कम जयेश ट्रेडिङ कन्र्सनले ठूलोलाई ९ सय १५ र सानोलाई ५ सय १५ मोल राखेको थियो।
त्यही भएर जयेशको स्वीकृत गरिएको अस्पतालका फार्मेसी सुपरभाइजर दिनेश नेपालीले बताए। जयेश ट्रेडिङ कन्सर्नका राजीव तेलंगा अक्सिजन प्लान्ट सञ्चालन गर्छन्, सप्लायर्स पनि हुन्। टेन्डरमा सामेल बाँकी दुई कम्पनीले अक्सिजनको कारोबार गर्दैनन्। कम्तीमा ३ वटा फर्मको सहभागिता जनाउन तिनीहरूलाई नाटकीय ढंगमा सामेल गरिएको सम्बद्ध स्रोतले बतायो। ती दुवै फर्म तेलंगाका नातेदार र आफन्तका रहेको बुझिएको छ। टेन्डरमै ‘कार्टेलिङ’ गरेको देखिएको छ।
भेरीले यसअघि पनि जयेशबाटै अक्सिजन लिने गथ्र्यो। गत वर्ष मात्र पहिलो पटक टेन्डर प्रक्रियामा गएको हो। नगरमै रहेको अक्सिजन कम्पनीबाट सस्तोमा किन्न छाडेर अस्पताल प्रशासन टेन्डर प्रक्रियामा गएको हो। यसबाट मिलिभगतमा सजिलो हुने गरेको पाइएको छ।
मूल्य अत्यधिक रहेको बिरामीबाट गुनासो बढेपछि वैशाख १५ देखि प्रतिसिलिन्डर १ सय ६५ रुपैयाँ घटाइएको छ। सप्लायर्स तेलंगाले हाल ७ सय ५० रुपैयाँमा उपलब्ध गराइरहेको बताए। अक्सिजन उत्पादक कम्पनीले भने भेरी अस्पतालले आफूसँग सिधै खरिदको सम्झौता गरेमा निकै सस्तोमा दिन सकिने बताएको छ।

बिरामीको आफ्नै अक्सिजन
जनताको करबाट भेरी अस्पतालले महँगो अक्सिजन खरिद गरे पनि बिरामी भने आइसोलेसन र वार्डमा आफ्नै अक्सिजन बोकिरहेका छन्। बर्दिया गुलरिया नगरपालिका–११ का जगत ढकाल शुक्रबार दिउँसो भेरी अस्पतालको इमरजेन्सी अगाडि एउटा ठूलो र अर्को सानो अक्सिजन सिलिण्डरसहित भेटिए।
ढकालले अस्पतालमा जुनसुकै बेला अक्सिजन सकिने खतरा रहेकाले सिलिण्डरको जोहो गरेको बताए। उनका साढु भाइ भेरीको आइसोलेसनमा कोरोनाको उपचार गराइरहेका छन्। ‘माछापालनका लागि राखेको अक्सिजन सिलिण्डर थियो। त्यही भरेर ल्याएका हौं’, उनले सुनाए, ‘अस्पतालमा अक्सिजन सकिएर बिरामीको मृत्यु भएको खबर सुनेर आफैं विकल्प खोजेका हौं।’ उनले तेस्रो पटक अक्सिजन सिलिण्डर फिलिङ गरेर ल्याएका थिए।
इमरजेन्सी अगाडिको पार्किङमा मोटर साइकलमा सानो अक्सिजन सिलिण्डर भर्न जाँदै गरेको अवस्थामा भेटिएका थिए, बाँकेको राप्ती सोनारी गाउँपालिका १ कुसुमका सुरेश खत्री। उनकी फुपूको इमरजेन्सी अगाडिको टेन्टमा राखेर दुई दिनदेखि उपचार भइरहेको छ।
‘हिजो अक्सिजन लेवल ६० पुगेको थियो। डाक्टरले आफैं सिलिण्डर ल्याएर आउनुस््। लगाइदिन्छौं भने। १५ हजार रुपैयाँ धरौटी राखेर ल्याएको हुँ’, उनले दुस्खेसो पोखे, ‘कसै कसैलाई त अस्पतालले पनि अक्सिजन लगाइदिँदो रहेछ। कस्तोलाई दिन्छ, थाहा भएन।’
भेरी अस्पतालको आइसोलेसन वार्डमा १५र२० जना बिरामीले आफैं अक्सिजन सिलिण्डरको व्यवस्था गरेका छन्। अस्पतालका प्रमुख डा। थापा पाइप लाइनबाट अक्सिजन दिने व्यवस्था भए पनि बिरामीले सिलिण्डर राख्ने गरेको बताउँछन्।

अक्सिजन सिलिन्डर : ‘मार्जिनलाई अन्यथा लिनुहुन्न’

राजीव तेलंगा : जयेश ट्रेडिङ कन्सर्न, नेपालगन्जका अक्सिजन आपूर्तिकर्ता

राजीव तेलंगा

अक्सिजनको अवस्था कस्तो छ ?
२४ घण्टा उत्पादन हुँदा दुई कम्पनीबाट १२ सय सिलिन्डरजति हुन्छ। सबैबाट प्रेसर बढी छ। हामीले भेरी अस्पतालमा मात्र घण्टाको २० वटाका दरले पठाइरहेका छौं। दैनिक ४ सय ५० देखि ५ सयजति पठाइरहेका छौं। पहिले २ सय ५० दिन्थ्यौं। अहिले लिक्विड प्लान्ट पनि भएकाले नेपालगन्ज मेडिकल कलेजलाई ८० देखि १ सयवटा मात्र पठाइरहेका छौं।

अक्सिजन प्रतिसिलिन्डर कति रुपैयाँ पर्छ ?
बजार मूल्य पसलसम्मको ६ सय रुपैयाँ हो। ढुवानी कसैलाई गर्नुपर्‍यो भने ढुवानी र लोडरअनलोडको थप चार्ज लाग्छ। कतिवटा सिलिन्डर अर्डर गर्छ।

ढुवानी र लोडरअनलोडमा कति रुपैयाँ लाग्छ ?
हामीले सबै ठाउँमा गर्नुपर्दा प्रतिसिलिन्डर थप ६० रुपैयाँ लाग्छ। भाडा भने बुटवल, धनगढी र दाङमा १ सय ५० रुपैयाँ पर्छ। हामीले बुटवलमा लोडरअनलोड गर्दैनौं। महेन्द्रनगरमा अर्र्डर कम भएकाले भाडा २ सय ३५ रुपैयाँ लाग्छ। सुर्खेतको ढुवानीमा भने हामी प्रतिट्रिप १० हजारका दरले पठाउँछौं। एक ट्रिपमा कहिले ४० र कहिले ५० वटा पठाउँछौं।

भेरी अस्पतालमा प्रतिसिलिन्डर अक्सिजन कति रुपैयाँमा सम्झौता गर्नुभएको छ ?
ठूलो अक्सिजनको ९ सय १५ रुपैयाँ र सानोको ५ सय १५ रुपैयाँमा सम्झौता भएको छ। हामीले वैशाख पहिलो सातादेखि सम्झौताभन्दा घटेर दिएका छौं। अहिले प्रतिसिलिन्डर ६ सय, सय रुपैयाँ ढुवानी र ५० रुपैयाँ लोडरअनलोड गरेका छौं। ठूलो अहिले घटाएर ७ सय ५० बनाएका छौं। सानो सिलिन्डरको मूल्यमा भने रिभाइज गरेका छैनौं। मेडिकल कलेजमा मूल्य घटाएपछि भेरीमा पनि घटाएका हौं।

भेरीको मेडिकल स्टोरमा १८ वैशाखसम्मको बिल पठाउनुभएको रहेछ। त्यहाँ त ९ सय १५ रुपैयाँ नै उल्लेख रहेछ त ?
९कर्मचारीलाई फोन गरेर वैशाख १५ देखि १८ गतेसम्मको बिल मगाउँछन्। एकैछिनमा बिल आउँछ।० १५ गतेसम्म ९ सय १५ नै लिएका छौं। १६ गतेदेखि घटाएका रहेछौं सर।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई कति रुपैयाँमा बेच्नुहुन्छ ?
मैले एचओ अक्सिजनबाट किन्छु। त्यहींबाट मेडिकल कलेजमा जान्छ। हामी ४ सय १५ रुपैयाँ मात्र लिन्छौं। मार्जिन छैन। ढुवानी उसले आफैं गर्छ। किनभने, कनोडिया डाक्टर साहेबले मार्जिन नखानू, बल्ल म लिन्छु भन्नुभयो।

दुई अस्पतालबीच मूल्यमा धेरै अन्तर किन ?
मेडिकल कलेजसँग डेढ सय, २ सय सिलिन्डर छ। भेरीसँग २०–२५ सिलिन्डर मात्र छ। साढे २ सयदेखि ३ सय सिलिन्डर त्यहाँ रनिङ छ। मेरो सिलिन्डरमा लागत लागेको छ। टे«डिङ मार्जिन लिनुपर्‍यो। हामीले गाडी, स्टाफ सबै स्टेन्डबाई राखेका छौं। सञ्चालन खर्च छ। यसलाई तपाईं अन्यथा नबुझ्नुस् सर। सेवाको हिसाबले भइरहेको छ।

तपाईंलाई अक्सिजन कम्पनीले प्रतिसिलिन्डर कति रुपैयाँमा दिन्छ ?
एचओ अक्सिजन कम्पनीले हामीलाई ४ सय रुपैयाँमा दिन्छ।

स्रोत : अन्नपूर्ण पोस्ट्