बर्दियामा कोरोनाबाट मृत्युको १८ प्रतिशत बढैयातालमा (कुन पालिकामा कति मृत्यु सूची)
नेपालगन्ज : कोरोनाबाट बर्दियाको कूल मृत्युको १८ प्रतिशत बढैयाताल गाउँपालिकामा रहेको छ ।
गत वर्षको चैत्रसम्म जिल्लाका अन्य ७ स्थानीय तहमा कोरोनाबाट मृत्यु भए पनि बढैयातालमा एक जनाको पनि निधन भएको थिएन । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार शनिबार राति ८ः३० बजेसम्म बर्दियामा १ सय १२ जनाको मृत्यु भएकोमा बढैयातालका सर्वाधिक २० जनाको मृत्यु भएको हो । जुन जिल्लाको कूल मृत्युको १७.८५ प्रतिशत हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश पौडेलका अनुसार कोरोनाको दोस्रो लहरपछि संक्रमण र मृत्युदर बढेको छ । गाउँपालिकाको वडा नं. १ मा सर्वाधिक ६ जनाको मृत्यु भएको छ । वडा नं. ८ मा ५ जना २, ३, ६ र ७ नं. वडामा दुई दुई जना र वडा नं. ५ मा एक जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत वर्षको चैत्रसम्म बर्दियामा ३४ जनाको मात्र मृत्यु भएको थियो । वैशाखदेखि जेठको ८ गतेसम्म ७८ जनाको मृत्यु भइसकेको छ । एक वर्षभन्दा झन्डै डेढ महिनाको अवधिमा मात्र ७० प्रतिशत संक्रमितको मृत्यु भएको छ ।
बढैयातालपछि गुलरिया नगरपालिकामा १८, मधुवन नगरपालिकामा १४, ठाकुरबाबा नगरपालिकामा १३, बाँसगढी नगरपालिका र राजापुर नगरपालिकामा नौ नौ जना र सबैभन्दा कम गेरुवा गाउँपालिकामा ७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ५ हजार २ सय ७४ जना संक्रमित रहेकोमा अहिले पनि १ हजार ४ सय ३५ जना सक्रिय संक्रमित छन् ।