बाँकेमा पछिल्लो २४ घण्टामा मृत्युदर शून्य

नेपालगन्ज : बाँकेमा पछिल्लो २४ घण्टामा मृत्युदर शून्यमा झरेको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएयता आइतबार पहिलो पटक जिल्लाका कुनै पनि व्यक्तिको मृत्यु नभएको हो । यसअघि वैशाखको पहिलो सातादेखि दैनिक रुपमा यहाँका कोरोना संक्रमितको मृत्यु हुने गरेको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जिल्लामा संक्रमण दर घट्न थालेको संकेत गरेको बताए। बाँकेका कोरोना संक्रमितको मृत्यु नभए पनि अन्य विभिन्न जिल्लावाट बाँकेका अस्पतालमा आएका ८ जनाको भने मृत्यु भएको छ । यस्तै, केही दिन यता बाँकेमा संक्रमण दर पनि निरन्तर रुपमा ओरालो लाग्दै गएको छ । आइतबार बाँकेका तीन वटा प्रयोगशालामा तीन सय ९० जनामा संक्रमण पुष्टि हुँदा जिल्लाका १ सय १४ जना थपिएका हुन् । त्यस्तै ४ सय ५२ जना डिस्चार्ज भएका छन् ।