बजेट भाषण : सिक्टा सिँचाइ आयोजनाको निर्माण २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
नेपालगन्ज : सरकारले आगामी आर्थिक वर्षको बजेटमा सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य घोषणा गरेको छ ।
शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको निर्माण सम्पन्न गर्न एक अर्ब ५६ करोड बजेट विनियोजन गरेको जानकारी दिए । सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरबाट थप २ हजार हेक्टर भूमिमा सिँँचाइ सुविधा पुयाइने बताउँदै आयोजनाको पूर्वी खण्ड मध्ये आगामी वर्ष थप २० किलोमिटर मूल नहर र १२ किलोमिटर शाखा नहर निर्माण सम्पन्न गरी थप ५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिने बजेटमा उल्लेख छ ।
त्यस्तै गरी बबई सिँचाइ आयोजनाको पश्चिम खण्डको बाँकी ८ किलोमिटर नहर सम्पन्न गर्न १ अर्ब ४४ करोड र भेरी बबई डाईभर्सन आयोजनाका लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरेको मन्त्री पौडेलले जानकारी दिए ।