बाँकेका यो वर्ष विपदबाट १ लाख ५० हजार प्रभावित हुने अनुमान
नेपालगन्ज : बाँके जिल्लामा यो वर्ष एक लाख ५० हजार जना प्रभावित हुने पूर्वानुमान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको सोमबार सम्पन्न बैठकमा २५ हजार घरपरिवारका एक लाख ५० हजार जना प्रभावित हुनसक्ने पूर्वानुमान गरेको जिल्ला आपतकालीन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । त्यसैगरी मनसुनबाट करिब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभाबित हुने अनुमान छ ।बैठकले जिल्लाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ समेत स्वीकृत गरेको छ । त्यसैगरी मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्दारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाँउपालिकाको कम्दीस्थित राप्ती नदीमा सबै सुरक्षा निकाय, पालिका रेडक्रसको सहभागितामा ११ असारको बिहान ११ वजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरेको छ ।