नेपालको कूल सेना, सशस्त्र र प्रहरीमध्ये ९ प्रतिशतलाई कोरोना

सुरक्षाकर्मीलाई कोरोनाबारे इन्फोग्राफिक । अन्नपूर्ण पोस्ट्बाट

नेपालगन्ज : नेपालको कूल सुरक्षाकर्मीमध्ये ९ प्रतिशतलाई कोरोना संक्रमण भएको छ ।
नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरी हेड क्वाटरका अनुसार देशको कूल सुरक्षाकर्मी एक लाख ९९ हजारमध्ये १८ हजार ३ सय १२ जनालाई कोरोना भएको हो । जुन कूल सुरक्षाकर्मीको ९.२० प्रतिशत हो । सबैभन्दा बढी संक्रमित र कोरोनाबाट मृत्यु नेपाल प्रहरीका छन् । नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार ९ हजार २ स ७९ जना संक्रमित रहेकोमा १६ जनाले ज्यान गुमाएका छन् । प्रहरीले कोरोना रोकथाम र नियन्त्रणको काममा सबैभन्दा फ्रन्टलाइनमा काम गरेको छ ।
दोस्रो बढी संक्रमित र मृत्यु नेपाली सेनाका छन् । ६ हजार ३ सय १६ नेपाली सैनिकलाई कोरोना भएको र ८ जनाले ज्यान गुमाएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए । सेना संक्रमणको सुरुवातदेखि नै कोभिड–१९ प्रतिकार्यमा खटिएको थियो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालका अनुसार २ हजार ७ सय १७ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएकोमा ६ जनाको मृत्यु भएको छ । सीमा हेल्थडेस्क, होल्डिङ सेन्टर र पीसीआर परीक्षणमा शसस्त्रले सघाएको छ । कूल कोरोना संक्रमित भएका सुरक्षाकर्मीमध्ये अहिले पनि १८.४९ प्रतिशत सक्रिय संक्रमित छन् ।