स्प्रिङ डेल स्कुलद्वारा अभिभावकलाई ३ घण्टा ‘मोटिभेसनल क्लास’

नेपालगन्ज : स्प्रिङ डेल ऐकेडेमी नेपालगन्जले शनिबार अभिभावकलाई पनि पढाएको छ ।कोरोना कहरको बेला संस्थागत विद्यालयले विद्यार्थीलाई नपढाएरै शुल्क असुलेको आरोप लागिरहेको बेला स्प्रिङ डेलले भने पोजेटिभ प्यारेन्टिङ शीर्षकमा अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । मोटिभेटर प्रितम पौडेलले अभिभावकलाई अनलाइनमा ३ घण्टा मोटिभेसनल क्लास दिएका थिए ।
‘घर नै विद्यालय र अभिभावक नै पहिलो शिक्षक हुन्’, मोटिभेटर पौडेलले अभिभावकसँग भने, ‘तपाईका हरेक सन्तानमा क्षमता छ । एक से एक अब्बल छन् । परीक्षामा ल्याउने अंकमा जोड नदिनुस् । उनीहरुको क्षमतालाई उजागर गर्न लगाउनुस् । गाली होइन, हौैसला र प्रेरणा दिनुस्, सफलता पाउनेछन् ।’
थोमस अल्बा एडिसनलाई विद्यालयले निकालेपछि र उनकी आमाले घरमै दिएको शिक्षापछि कसरी वैज्ञानिक बने भन्ने बारेको भिडियो देखाउँदै अभिभावकले दिने शिक्षामा सन्तानको भविष्य औंल्याएका थिए । उनी भन्छन्, ‘विद्यालयलाई औपचारिक शिक्षाबारे ज्ञान दिन दिनुस् । घरमा संस्कार सिकाउनुस् । जतिसुकै व्यस्त जीवनशैली भए पनि सन्तानलाई समय दिनुस् । सन्तान असल नागरिक बन्नेछन् ।’

उनले कोर्स बुकको ज्ञानले मात्र सन्तानले पढ्ने बानीको विकास नहुने भएकाले उनीहरुलाई बाहिरी किताबहरु पनि पढ्ने बानीको विकास गराउनु पर्ने बताएका थिए । ‘अनुशासन भनेको बच्चालाई नियन्त्रणमा राख्नु हैन बरु बच्चालाई आफैं नियन्त्रणमा राख्न सिक्नु हो’, पौडेलको भनाइ थियो, ‘बच्चाको समय र हाम्रो समय एउटै हैन । उसले सोच्ने तरिका र हामीले सोच्ने तरिका पनि एउटै नहुनसक्छ । उसलाई समय दिनुपर्छ । माया गरेर ढाडस दिँदै सिकाउनुपर्छ । जिद्दी गर्दैमा सबै कुरा पाइन्छ भन्ने सोचाइ आउनबाट पनि बचाउनुपर्छ ।’ प्रशिक्षक पौडेलले एउटा केटो र स्याउको रुख, मेरो सुपर हिरो बाबा, आमाको शिक्षा, चाबी हराएको कथा लगायतका भिडियोमार्फत अभिभावकलाई जीवन दर्शनबारे ध्यानाकर्षण गराएका थिए ।
विद्यालयका प्रधानाध्यापक शरद रावलले कोरोना कहरका कारण अनलाइन शिक्षा प्रभावकारी बनाउन शिक्षकहरुलाई पनि अनलाइन एक हप्ते अनलाइन शिक्षाबारे तालिम दिइरहेको बताए । उनले भने, ‘अनलाइन कक्षाको विकल्पको रुपमा अनलाइन नै भएकाले कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विद्यालयले तयारी गरिरहेको बताए ।’

१३ असारदेखि नयाँ शैक्षिक शत्रको पढाइ सुरु हुनेबारे अभिभावकसँग छलफल गर्न जुम आइडी र पासवर्ड पठाए पनि अभिभावकलाई नै सन्तानको शिक्षा कसरी प्रभावकारी बनाउने भन्नेबारे अभिभावकलाई दिएको मोटिभेसनल क्लास प्रभावकारी भएको बताएका थिए । कार्यक्रममा एक सय ५१ जना अभिभावक सहभागी भएका थिए ।