राजापुरका २२ जनालाई ९९ बाख्रा वितरण

शक्ति परियार । राजापुर
बर्दियाको राजापुरका २२ जना किसानलाई ९९ वटा बाख्रा वितरण गरिएको छ ।
राजापुर नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत राजापुरका द्वन्द पीडित तथा मुक्त कमैयालाई बाख्रा पाठापाठी वितरण गरेको हो । आयआर्जनमा सहज होस् भन्ने उद्देश्यले राजापुर नगरपालिका क्षेत्रका अति विपन्न द्वन्द पीडित ११ र मुक्त कमैया ११ गरी २२ जनालाई शुक्रबार नगर प्रमुख शिवप्रसाद चौधरीले बाख्राका पाठापाठी हस्तान्तरण गरेका थिए । ‘व्यवसायीक रुपमा बाख्रापालन गरी आय स्रोत बढाउनतर्फ कृषकहरु लाग्नु पर्छ’, नगर प्रमुख चौधरीले भने, ‘यो सहयोगलाई रहर मात्रै मान्ने भए आउँदा दिनमा यस्ता कार्यक्रममा सहभागी गराउने छैनौं’। कार्यक्रममा राजापुर क्षेत्रमै लामो समयसम्म बाख्रापालन गरिरहेका नेपाल लाइभ स्टक एग्रीकल्चर प्रालिका संचालक नयन सिंह ओलीले बाख्रा पालन सम्बन्धि जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति तथा जिल्ला व्यवस्थापन समिति बर्दिया अध्यक्ष शंकरप्रसाद चौधरीले आउँदा दिनहरुमा थप कार्यक्रमहरु सञ्चालन गरिने बताए ।