सांसद र अधिकारकर्मीको टोली लक्ष्मणपुर बाँधबाट हुने डुबान प्रभावित क्षेत्रको निरीक्षणमा

सुइँया (बाँके) : ‘मेरो १२ बिगाहा जग्गा त राप्ती नदीले कटान गरेको छ’, लक्ष्मणपुर बाँधका कारण हरेर वर्ष डुबान समस्या झेल्ने नरैनापुर र डुडुवा गाउँपालिकाका बस्तीको निरीक्षण गर्न नरैनापुर गाउँपालिका ५ भगवानपुर पुगेका प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय कार्यालय नेपालगन्ज प्रमुख झंकर रावल, अधिकारकर्मी वसन्त गौतम, खाद्य अधिकारकर्मी वसन्त गौतम र पत्रकारको टोलीसँग स्थानीय दुर्गाप्रसाद श्रीवास्तव गुनासो गर्दै थिए, ‘राप्ती नदीको कटानले धेरै जनालाई त घरबारविहीन बनाएको छ । उनीहरु जंगल किनारमा छाप्रो बनाएर बसेका छन् ।’

बरपिपल चौतारीमा भेला भएका स्थानीयले जनता तटबन्धले नदीको कटान रोकिएको र नदीको बहाव पश्मिचतिर गएको जानकारी गराएका थिए । उनीहरुले तटबन्ध प्रभावकारी भए पनि पर्याप्त नभएको गुनासो पनि गरेका थिए । सांसद नमूनाले तत्कालै अस्थायी प्रकृतिको तटबन्ध र दीर्घकालीन रुपमा पक्की तटबन्धका लागि आफूले पहल गरिरहेको बताएकी थिइन् ।

राप्ती सोनारी गाउँपालिकाको वडा नंं. ७ मा बुधबार फियान नेपालले आयोजना गरेकोे लक्ष्मणपुर बाँध पीडित खाद्य अधिकार समूहको सवालबाट बर्हिगमन कार्यशालामा सहभागीले पनि राप्ती नदीको कटान र डुबानको सास्तीको पीडा पोखेका थिए ।

लक्ष्मणपुर बाँध पीडितहरुलाई विगत ९ वर्षदेखि फियान नेपालले सहयोग गर्दै आएको थियो । यो आर्थिक वर्षदेखि सो क्षेत्रको प्रोजेक्ट सकिएको छ । फियानका क्षेत्रीय संयोजक सुरेश गौतमले प्रोजेक्ट सकिए पनि आगामी एक वर्षसम्म संस्थाले सहयोग भने जारी राख्ने बताए ।
यसअघि सांसद र अधिकारकर्मीको टोलीले नरैनापुर १ को सुइँया क्षेत्रमा भारतले बनाएको कलकलवा तटबन्ध (बाँध जस्तो अग्लो सडक)को पनि अवलोकन गरेका थिए ।

लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका जिल्ला सचिव राजकुमार शुक्लाका अनुसार नरैनापुर, राप्ती सोनारी र डुडुवा गाउँपालिकाका झन्डै ७० हजार वासिन्दा राप्ती नदीको बाढी र कटानको समस्या झेलिरहेका छन् ।