विद्यार्थीलाई ‘होमवर्क’को सट्टा ‘हाउसवर्क’बारे लेख्न लगाऔं : वैज्ञानिक मदन राई

नेपालगन्ज : कृषि वैज्ञानिक मदन राईले विद्यार्थीलाई होमवर्कभन्दा हाउसवर्कलाई साहित्य रचनाको रुपमा लेख्न लगाउन शिक्षक र अभिभावकलाई सुझाव दिएका छन् ।
नेपालगन्जको स्प्रिङ डेल एकेडेमीले अभिभावकका लागि शुक्रबार आयोजना गरेको ‘भर्चुअल मोटिभेटसनल सेसन’मा बोल्दै वैज्ञानिक राईले बालबालिकालाई जीवनोपयोगी घरेलु ज्ञान, सीप सिकाएर आफ्नो काम आफै गर्नसक्ने बनाउन हाउसवर्क लेख्न लगाउन जोड दिए । ‘विद्यार्थीलाई होमवर्क नदिनुस् । घरमा काम गर्न लगाउनुस् । भान्साको काममा सघाउ लगाउनुुस्’, उनले भने, ‘घाँस काटेको, घर सफा गरेको विषयमा कविता, कथा कविता, निबन्ध, चिठ्ठी, मनोवाद, संवाद लेख्न लगाउनुस् ।’
संयुक्त राष्ट्रसंघको जागिरको क्रममा विश्वका ७४ देश र नेपालका सबै जिल्लाको भ्रमण गरेका उनले बताउने राईले बालबालिकालाई बाआमा, घरपरिवार, समाज र सरकारले असल शिक्षा दिन नसकेर बिगारेको जिकिर पनि गरे । उनले आफूले सञ्चालन गरेको विद्यालयमा विद्यार्थीलाई चार ‘क’ (कोदालो, क्यामरा, कम्प्युटर र कलम)बारे शिक्षा दिइरहेको बताए । सन्तानका लागि भन्दै सम्पत्ति साँच्ने अभिभावकले बच्चा बिगारेको दाबी गरे, ‘त्यो सम्पत्तिले अल्छी बनाउँछ । बाबुको सम्पत्तिले अहंकारी हुन्छ । सन्तानबीच अंशमा विवाद बढाउँछ । अपराधी बनाउँछ ।’ बालबालिकालाई उनको सुझाव थियो, ‘सबै आवश्यकता पूरा हुनसक्छन् तर सबै इच्छा पूरा हुँदैनन । केही इच्छा मात्र पूरा हुनसक्छन् भन्ने बुझ्न जरुरी छ ।’

 

कार्यक्रममा ६० बढी अभिभावकको सहभागिता रहेको थियो । स्प्रिङ डेल एकेडेमीले यसअघि पनि अभिभावकलाई मोटिभेटर स्पिकर प्रितम पौैडेलसँग सेसन सञ्चालन गरेको थियो । विद्यालयका प्रिन्सिपल शरद रावलले कोरोनाका कारण विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गर्नु परेकाले सन्तानको गुणस्तरीय शिक्षाका लागि अभिभावकको पनि भूमिका प्रभावकारी हुने भएकाले अभिभावक लक्षित मोटिभेसन सेसन सञ्चालन गरेको बताए । उनले भने, ‘यस्ता कार्यक्रमहरु अनलाइनमा निरन्तर सञ्चालन हुनेछन् । कोरोनाको कहर हटेको अवस्थामा समाजका प्रतिष्ठित व्यक्तिलाई डाकेर सकारात्मक सोच र शिक्षा सुधारका कक्षा सञ्चालन हुनेछन् ।’