तरकारी खेतीले विष्णुलाई दिएको खुसी

शिक्षक बन्न भौतारिँदा भौतारिँदै कहीँ नपाएपछि विष्णुले तरकारी खेती सुरु गरे, ४ वर्षमै तरकारी खेतीबाट १६ कट्ठा जग्गा, घर र मोटरसाइकल किनेका छन्
बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवाका किसान विष्णु थारुको तरकारी खेती । फोटो : रमेशकुमार यादव

रमेशकुमार यादव । सिधनवाँ (बाँके)
राप्तीसोनारी गाउँपालिका–६ सिधनवाका २८ वर्षीय विष्णु थारु पढेर शिक्षक बन्न चाहन्थे । अंग्रेजी विषयमा प्लस टु उत्तीर्ण गरे । घरको आर्थिक अवस्था कमजोर थियो । थप पढ्न सक्ने अवस्था भएन । शिक्षक बन्न धेरै विद्यालय धाए तर कहीँ जागिर पाएनन् । ‘शिक्षक बन्ने सपना अधुरो भयो’, उनले दुःखेसो पोखे ।

शिक्षक बन्न नपाए पनि घरखर्च चलाउन कुनै न कुनै जागिरको खाँचो थियो । हरिप्रसाद र माइती थारुका तीन भाइ छोरामध्ये बिष्णु माइला हुन् । उनको बाल्ययकाल साह्रै दुःखमा बितेको थियो । पढेर उज्ज्वल भविश्य देखेका उनी सोर्सफोर्सको जमानामा लक्ष्यविहीन भए । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी भन्ने उखान मेरो जीवनमा लागू भयो । दुःखको बेला कसैले साथ दिएनन्’, उनले विगत सम्झे, ‘जीवन गुजाराका लागि जग्गा लिजमा लिएर तरकारी खेती गर्ने सोच बनाए ।’
उनले लक्ष्य बदले । उद्देश्य परिवर्तन गरे । पुर्ख्यौली पेशा कृषिलाई व्यवसायिक बनाएर जीविकोपार्जन गर्ने अठोटमा लागे । समुदायिक वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष लवराज खरेलले तरकारी खेतीको तालिममा सहभागी गराएर उनलाई सघाए । तालिमकै क्रममा सिँचाइ गर्ने पाइप, कुटो, कोदालो, कैँची जस्ता सामग्री सहयोग पाए । खेती गर्ने सोच त बनाए तर आफूसँग पैसा थिएन । गाउँको आमा समूहले ६० प्रतिशत अनुदान र ४० प्रतिशत कर्जाका रुपमा पैसा दियो । उनीसँग तरकारी खेती गर्ने आफ्नो जग्गा पनि थिएन । वार्षिक दुई हजार पाँच सय रुपैयाँमा तिर्ने गरी ११ कट्ठा जग्गा लिजमा लिए ।

टमाटर, काउली, खुर्सानी, लौका, फर्सी, भिन्डी, करेलाको खेती सुरु भयो । पहिलो वर्षमै तरकारी खेती सप्रियो । यसले थप क्षेत्रफल विस्तार गर्ने सोच बनाए । ४ वर्षमा ५० कट्ठामा तरकारी खेती गरिरहेका छन् । मौसमी र बेमौसमी दुबै तरकारी खेती गर्छन् । उनका अनुसार बेमौसमी तरकारीबाट बढी नाफा हुन्छ । पहिले–पहिले थोरै तरकारी उत्पादन हुँदा गाउँघरमै बिक्री हुन्थ्यो । अहिले दैनिकी ५० किलोसम्म उत्पादन हुन्छ । उनको तरकारी अटोरिक्सामा नेपालगन्जसम्म पुग्छ । आम्दानी पनि बढ्दोक्रममा छ ।

तरकारी बेचेको पैसाले उनले आफ्ना लागि मोटरसाइकल किने । १६ कट्ठा जग्गा जोडे । ओत लाग्ने इँटाको भित्ता र टिनको छानो भएको घर बनाए । जोत्ने हलगोरु भन्दा कृषिका अत्याधुनिक यन्त्रतिर उनी आकर्षित भएका छन् । भन्छन्, ‘हाम्रो ९ जनाको परिवारको आम्दानीको प्रमुख श्रोत नै तरकारी खेती हो । सबै खर्च कटाएर वर्षमा चार पाँच लाख रुपैयाँ बचत गर्छु ।’

उनी अर्गानिक तरकारीतिर उन्मुख भएका छन् । ‘मैले पैसा कमाएर मात्र हुन्न । ग्राहकको स्वास्थ्यको पनि ख्याल गर्नु प¥यो नि ?’, उनले इमान देखाए, ‘अर्गानिक तरकारीले भने जस्तोे भाउ पाउँदैन ।

अर्गानिक तरकारी बढी भन्दा बढी उत्पादन गर्ने मेरो सोच पुरा हुन सकेको छैन ।’ विगतमा जागिर खोज्दै भौतारिएर बेरोजगार बनेकी विष्णु अहिले त अरुलाई रोजगारी दिने भइसकेका छन् । जीवनको लक्ष्य शिक्षक बन्ने भए पनि उनी कर्ममा कृषिमा सफल हुँदै गएका छन् । ‘किसानले ढुंगामा पनि मोती फलाउन सक्छ’, पितापुर्खाको यो भनाइलाई आफूले सत्य सावित गरेको उनी जिकिर गर्छन् ।