४ महिनादेखि तलब नपाएपछि शिक्षण अस्पताल नेपालगन्जका स्वास्थ्यककर्मी आन्दोलित
शिरीष रेग्मी । नेपालगन्ज
चार महिनासम्म तलब, भत्ता नपाएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलित स्वास्थ्यकर्मीले शुक्रबार शिक्षण अस्पताल नेपालगन्जको प्रशासन, प्रबन्ध निर्देशक कार्यालय र र लेखा शाखामा तालाबन्दी गरेका छन् ।
लर्ड बुद्ध एजुकेशन ऐकेडेमी कर्मचारी संगठनका महिला उपाध्यक्ष सुमन गिरी श्रेष्ठका अनुसार अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मी र कर्मचारीले ३ महिनादेखि तलब पाएका छैनन् । डाक्टरहरुको भने चार महिनाकै तलब बाँकी रहेको छ । नर्सिङ अधिकृत पदमा कार्यरत उपाध्यक्ष सुमनले नर्सिङ स्टाफ र कर्मचारीहरुले कोभिड भत्ता र खाजा भत्ता पनि नपाएकोे बताइन् । उनले भनिन्, ‘हरेक दुई दुई वर्षमा तलब बृद्धि हुनुपर्ने हो । पाँच वर्ष यता बृद्धि नै भएको छैन । सामाजिक सुरक्षा कोषमा स्वास्थ्यकर्मी र कर्मचारीको तलबबाट ११ प्रतिशत रकम कट्टा गरिए पनि कम्पनीको तर्फबाट थप २० प्रतिशत थप गर्नुपर्नेमा १६ महिनादेखि कोषमा दाखिला भएको छैन ।’
कोरोना महामारीको बेलामा समेत तलब ढिलो आउँदा सहेर बस्ने स्वास्थ्यकर्मी र कर्मचारीहरु कम्पनीको ४९ प्रतिशत शेयर बिक्री गरेको खबरले पनि झस्केका छन् । उनीहरुले पूरानो हिसाब किताब सबै चुक्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा छन् । माग पूरा नभएमा रिले अनशनलगायतका आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिइरहेका छन् ।
शिक्षण अस्पतालका उपनिर्देशक श्याम शर्माले मेरो खुसीसँग टेलिफोन सम्पर्कमा असार मसान्त लागेकाले तलब दिन ढिलो भए पनि आगामी एक हप्ताभित्र उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘एक वर्षयता हामीले २ महिना ढिलो तलब दिँदै आएका थियौं । अहिले क्लोजिङको बेला पनि भएकाले तीन महिना पुगेको हो । कति डाक्टरको चार महिनाको पनि बाँकी छ । एक हप्ता कुर्नुस् भन्दा पनि साथीहरु आन्दोेलन गरिरहनु भएको छ ।’ शिक्षण अस्पतालले शेयर बेचेर अरु नै कम्पनीलाई व्यवस्थापन हस्तान्तरण गरिरहेको सन्दर्भमा उपनिर्देशक शर्माकोे जवाफ थियो, ‘कम्पनीको शेयर बेच्ने हो । कम्पनी यथावत् रहन्छ । यसबाट काम गर्नेहरुलाई कुुनै फरक पर्दैन । कम्पनीको नियम अनुुुसार कर्मचारीहरुले काम गर्न पाउँछन् ।’ उनले सरकारी सरहको हरेक वर्र्ष तलब बृद्धि गर्न नसक्ने अवस्थामा कम्पनी रहेको जिकिर गरे । ‘गत वर्ष १८ करोड घाटामा गयो । यो वर्ष पनि ११ करोड घाटामा गएको छ । १४ सय कर्मचारीलाई हामी सरकारी कर्मचारी सरह कसरी तलब बृद्धि गर्न सक्छौं’, उनले प्रष्ट पारे ।