बर्दियालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
मुरली गोडिया । गुलरिया
बर्दियालाई पनि पूर्ण खोप सुनिश्चितता भएको जिल्लाका रुपमा घोषणा गरिएको छ ।
जिल्लाका ६ नगरपालिका र २ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता भएपछि बिहीबार जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्तिता गर्ने निर्देशिका अनुसार जिल्लाका १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्रदान गरिएको छ । जिल्लामा खोप लगाउने लक्षित समूह जन्मेदेखि १५ महिनाको बालबालिकाको संख्या नौ हजार तीन सय ३८ र १६ महिना देखि २३ महिना उमेर समूहका बालबालिकको संख्या पाँच हजार छ सय ७० रहेको स्वास्थ्य कार्यालय बर्दियाका खोप फोकल पर्सन दुर्गाप्रसाद ढकालले जानकारी दिए ।
बर्र्दिया पूर्ण खोप सुनिश्चितता हुने नेपालको ६१औं जिल्ला हो । लुम्बिनी प्रदेशको १२ वटा जिल्लामध्ये ११औँ जिल्ला हो । प्रदेशमा रुकुमपूर्व मात्र पूर्ण खोप सुनिश्चिता हुन बाँकी छ । रुकुमपूर्वलाई पनि घोषणा गगरेर छिट्टै लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा रहेको स्वास्थ्य निर्देनालय लुम्बिनी प्रदेशका निर्देशक डा.विनोदकुमार गिरीले बताए ।