बाँकेमा कोरोना रोकथाम र नियन्त्रण यसरी भयो

लेखक : तेजबहादुर वली

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा बाँकेमा हटस्पट नै बन्यो । पहिलो लहरको बेलामा कोरोना रोकथाम नियन्त्रणमा जिल्लाका स्थानीय तह, अस्पताल, प्रहरी, प्रशासनले मिलेर नमूना काम गरे । कोरोना नियन्त्रणको रोल मोडल नै बन्यो, यो जिल्ला । दोस्रो लहरमा वैशाख र जेठमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढ्यो । जिल्लास्थित सरोकारवालाहरुको समन्वय र सहकार्यबाट अहिले कोरोना नियन्त्रणको अवस्थामा छ । जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न दिनरात नभनेर सक्रिय भएका जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेजबहादुर वली आफ्नो सक्रियतामा भएका गतिविधिको फेहरिस्त यसरी लेख्छन् :

 

क्वारेन्टाइन व्यवस्थापन
बाँकेमा भारत नेपालको मूख्य जमुनाहा नाका रहेको र उक्त नाकाबाट प्रवेश गरेका सबै नागरिकहरुलाई १४ दिनसम्म क्वारेन्टाइन गर्ने जिम्मेवारी क्वारेन्टाइन व्यवस्थापक भइ पूर्ण रुपमा व्यवस्थापन गर्ने प्रयास गरे । करिब २ हजार २ सय ९३ जना नागरिकहरुलाई महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, सुख्खा बन्दरगाहा र ह्वाइट हाउस क्वारेन्टाइन सेन्टरमा राखेर सेवा दिइएको थियो । क्वारेन्टाइनमा आरआरटी टिम परिचालन गरेर नाका तथा समुदायबाट क्वारेन्टाइन गर्नुपर्ने सबै नागरिकलाई अनिवार्य १४ दिन सेन्टरमा राखेर आवश्यक बन्दोबस्त (खाना, खाजा, सरसफाइ, खानेपानी) व्यवस्था गरेर १४ दिनपछि कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकाहरुलाई आ आफ्नो जिल्लामा पठाउने र संक्रमितलाई आइसोलेसन सेन्टर÷अस्पतालमा राख्ने व्यवस्था मिलाइएको थियो ।

आइसोलेसन सेन्टर/अस्पतालको व्यवस्थापन
संक्रमितहरुको आइसोलेसन व्यवस्थापन गर्दा गम्भिर र मध्यम विरामीहरुलाई भेरी अस्पताल ÷नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरि उपचार गर्ने र सामान्य बिरामीहरुलाई स्थानीय तहका आइसोलेसन सेन्टरहरुमा राखेर आवश्यक दैनिक स्वास्थ्य परीक्षण, आधारभूत आवश्यकताका सुविधा र २४ घण्टा स्वास्थ्यकर्मीको निगरानी हुने गरी व्यवस्थापनका लागि सहजीकरण गरियो ।

होम आइसोलेसनको सुरुवात तथा व्यवस्थापन
२०७७ साल असोज महिनादेखि नेपाल सरकारको निर्देशन बमोजिम बाँके जिल्लामा पनि होम आइसोलेसन बस्न सकिने मापदण्ड तयार भएसंगै सेवाकै क्रममा सोही बेला म आफू पनि संक्रमित भएँ । आफू संक्रमित भएसँगै होम आइसोलेसन व्यवस्थापनका लागि आवश्यक फर्म तयार गरेर बाँके जिल्लाका हरेक स्थानीय तहका प्रत्येक वडाहरुमा कोभिड फोकन पर्सन तोकेर सबै संक्रमितको दैनिक विवरण तयार गरि उहाँहरुलाई सम्पर्क गरि घरमै भेट गर्ने र मापदण्ड पूरा भएकालाई घरमा आइसोलेसन राखेर दैनिक स्वास्थ्य अवस्थाको निगरानी गर्ने गरियो । मापदण्ड पूरा नहुनेका लागि अस्पताल तथा आइसोलेसन सेन्टरमा पठाउने र घरमा बस्नुहुने संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्ने व्यवस्था मिलाइयो ।

निःशुल्क एम्बुलेन्स परिचालनको व्यवस्था
बाँके हरेक स्थानीय तहहरुको समन्वयमा कोभिड संक्रमित व्यक्तिहरुलाई अस्पताल तथा आइसोलेसन सेन्टरमा लिन सहजताका लागि हरेक पालिका तथा केही संघसंस्थाद्वारा निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थामा सहयोग गरियो ।

कोरोना परीक्षण र प्लाज्मा थेरापी
बाँकेका हरेक पालिकाहरुमा शंकास्पद र संक्रमितको सम्पर्कमा रहनु हुनेका लागि निःशुल्क स्वाब संकलन र परीक्षणको व्यवस्थासँगै बाँकेका तीन वटा पीसीआर ल्याब (भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याब)को नमूना जाँच गरि संक्रमितको व्यवस्थापन गरियो । अस्पतालमा भर्ना भएका सिकिस्त बिरामीहरुका लागि डाक्टरको सिफारिसमा प्लाज्मा थेरापीका लागि डोनरको खोजी, परामर्श र दानवीरको खोजी गरेर करिब २५० जना सिकिस्त बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने व्यवस्था मिलाइयो ।

मृतकको शव व्यवस्थापन
कोभिड संक्रमणबाट मृत्यु हुने शवको व्यवस्थापनको जिम्मा नेपाली सेनाको सहयोगमा जिम्मेवारका निर्वाह गर्न सहजीकरण गरियो । शव व्यवस्थाका लागि शववाहन २ वटा ( भेरी अस्पताल र नेपालगन्ज उपमहानगरपालिका) र जिल्ला वन कार्यालयसँगको सहकार्यमा दाउराको व्यवस्था मिलाएर बाँके जिल्लाभित्रका ३ सय २१ जना र बाहिरी जिल्लाका ३ सय ७३ जना गरि जम्मा ६ सय ९४ जनाको शव व्यवस्थापनमा नेपाली सेनाको सहयोगमा व्यवस्थापनमा सहजिकरण गरियो ।

कोभिड खोप अभियान
नेपाल सरकारको निर्देशन बमोजिम स्वास्थ्य कार्यालय बाँकेको सहयोगमा विभिन्न चरणमा कोभिड खोप सञ्चालन भयो । अहिले पनि जारी छ । खोपका लागि आमनागरिकमा सूचना प्रदान, पालिकाहरुमा समन्वय र नियमित अनुगमन गरेर सोको रेकर्ड र रिपोर्ट गर्ने कार्य निरन्तर गरिरहेको छु ।

श्रोत सामाग्रीको व्यवस्था
महामारीका समयमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुको व्यवस्थाका लागि बाँके जिल्लास्थित विभिन्न दातृ निकायसँगको समन्वय, सहकार्यमा व्यवस्थामा मिलाएर भेरी अस्पताल तथा बाँके जिल्लाका हरेक पालिकाका आइसोलेसन सेन्टरमा वितरण गर्ने व्यवस्थामा सहयोग गरिएको छ ।

रेकर्डिङ र रिपोर्टिङ
बाँके जिल्लामा कोभिड महामारी शुरुवातदेखि नेपालगन्ज उपमहानगरपालिकाको कोभिड अवस्थाको विवरण अभिलेख तथा सम्प्रेषणसँगै २०७७ साल मंसिर महिनादेखि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको जिम्मेवारीमा दैनिक कोभिड १९ सम्बन्धी अवस्थाको विवरण अभिलेख राखेर हरेक पालिकामा उपलव्ध गराउनुका साथै सूचनाका लागि आमसञ्चार माध्यममा सम्प्रेषण गर्ने कार्य निरन्तर गरिरहेको छु । हाल बाँके जिल्लामा १७ हजार ५ सय ५४ जना संक्रमित भएकोमा १७ हजार १ सय ७४ जना निको भएर डिस्चार्ज हुनु भएको छ भने ३ सय २१ जनाको दुःखद निधन भएको छ । सोमबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ६५ मात्र छ ।

(लेखक वली जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन हुन्)