अध्यात्मिक गुरु श्री श्री रविशंकरको जीवनी पुस्तक ‘गुरुदेव शिखरमा स्थिर’को विमोचन

नेपालगन्ज : द आर्ट अफ लिभिङका संस्थापक अध्यात्मिक गुरु श्री श्री रवि शंकरको नेपाली भाषा लेखिएकोे जीवनी ‘गुरुदेव शिखरमा स्थिर’को आइतबार विमोचन गरिएको छ ।

द आर्ट अफ लिभिङ नेपालले आइतबार भर्चुअलमा आयोजित कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरीले पुस्तकको विमोचन गरेकी हुन् । सन् २०१८ मा भानुमति नरसिम्हनले हिन्दी भाषामा प्रकाशित गरेको ‘गुरुदेव शिखर पर अचल’ र अंग्रेजी भाषामा प्रकाशित गुरुदेव अन द प्लेट्यु अफ द पिक को नाममा प्रकाशित रविशंकरको जीवनीको पुस्तकलाई पत्रकार तथा साहित्यकारर रमण घिमिरेले नेपाली भाषामा अनुवाद गरेका हुन् । लेखिका भानुमति रविशंकरकी बहिनी हुन् । उनी द आर्ट अफ लिभिङको महिला सशक्तिकरण तथा बालबालिका संरक्षण कार्यक्रमकी निर्देशकको रुपमा कार्यरत छिन् ।

लेखिका : भानुमति

पुस्तकमा रविशंकरको बाल्यकालदेखि कसरी अध्यात्मिक गुरु बनेर विश्वभर योग, ध्यान, ज्ञान, शान्ति, भाइचारा र सेवा विस्तार गर्न सफल भए भन्नेबारे चर्चा गरिएको छ । पुस्तक विमोचन कार्यक्रममा लेखिका भानुमतिले रविशंकरको अध्यात्मिक पथमा परिवारका सदस्यको साथ रहेको बताएकी थिइन् । पुस्तकका अनुवादक रमण घिमिरेले बुबाआमाले साथ नभएको भए रविशंकर अध्यात्मिक पथमा लाग्ने थिए र भन्ने जिज्ञासामा लेखिका भानुमतिले भनेकी थिइन्, ‘हावाको झोंकालाई पछ्यौंरीमा बाँधेर राख्न सकिन्छ र ? गुरुदेवको स्वभाव त्यस्तो थियो ।’
घिमिरेको मूर्तिपूजा सम्बन्धी अर्को जिज्ञासामा उनले र्ईश्वर रुप र अरुप दुबैमा हुने बताउँदै मूर्तिपूजा पनि पहिलो कदम भएको बताएकी थिइन् । हरेक जीवजन्तु सबैमा ईश्वर हुने भएकाले आफैभित्रैको भगवानलाई चिन्न सकेमा मूर्तिको पनि आवश्यकता नहुने उनको जिकिर थियो । श्री श्री रविशंकरले प्रतिपादन गरेको स्वास प्रस्वास सम्बन्धी ‘सुदर्शन क्रिया’बारे भएका धेरै वैज्ञानिक अनुसन्धानबाट मन र तनको स्वस्थताका लागि निकै उपयोगी प्रमाणित भएको दाबी गरेकी थिइन् । अनुवाद घिमिरेले पुस्तकबारे प्रकाश पार्दै रविशंकरको जीवनी, द द आर्ट अफ लिभिङबारे जानकारी मात्र नभएर विश्वका मानव जातिका लागि समुन्नति, शान्ति र चेतनाको नयाँ गीताको संज्ञा नैै दिएका थिए ।

विवेक जोशी

द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द आर्ट अफ लिभिङ नेपालका पूर्वअध्यक्ष सन्तोष शर्माले सहजीकरण गरेका थिए । योग शिक्षकद्वय लक्ष्मीदेवी श्रेष्ठ र विवेक जोशीले भजन गाएर मनोरञ्जन प्रदान गरेका थिए ।