जमुनाह नाकामा स्थायी हेल्थ डेस्क स्थापना

नेपालगन्जको सीमा नाका जमुनाहको स्थायी हेल्थ डेस्कको उद्घाटन गर्दै नगर प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायत । फोटो : मेरो खुसी

नेपालगन्ज : नेपालगन्जको जमुनाह नाकामा अस्थायी संरचनामा हेल्थ डेस्क सञ्चालन गरेको ४ महिनामै स्थायी संरचना निर्माण गरेर काम सुरु भएको छ ।
जमुनाह नाका हेल्थ डेस्कको मंगलबार नेपालगन्जका नगर प्रमुख डा. धवलशम्शेर राणा, उप–प्रमुख उमा थापा मगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । नगर प्रमुख डा. राणाले हेल्थ डेस्कसँगै अब एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापनाको लागि जग्गा खोज्ने काम भइरहेको बताए । उनले भने, ‘कम्तीमा ३ बिघा जग्गा चाहिने रहेछ । नगर क्षेत्रमा त पाउन गाह्रो छ । हिरमिनिया क्षेत्रमा जग्गा भएको पत्ता लागेको छ । जग्गाको व्यवस्था हुने बित्तिकै निर्माणको काम हुनेछ ।’
संघीय सरकारको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर ५१ लाख ३१ हजार ७ सय ३४ रुपैयाँ लागतमा स्थायी हेल्थ डेस्कको लागि ८ कोठे भवन निर्माण गरेको हो । स्वास्थ्य विभागले एक जना डाक्टर (मेडिकल अधिकृत), दुई दुई जना नर्सिङ र प्यारामेडिक्स, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगीको स्थायी दरबन्दी कायम गरेको छ तर अहिले ४ जना मात्र पठाएको छ । नेपालगन्ज उपमहानगरपालिकाले थप १२ जना स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । डाक्टरको दरबन्दी भए पनि अहिलेसम्म पठाइएको छैन ।
गत वर्षको ११ चैत्रदेखि टेण्ट टाँगेर स्थापना भएको अस्थायी हेल्थ डेस्क स्थापना गरिएको थियो ।