खोलाले बगाएर ९० वर्षीया वृद्धाको मृत्यु, कैलालीमा बाढीले सयौं घर डुबानमा
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको लम्की चुहा नगरपालिकामा चरेला खोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाहका अनुसार लम्की चुहा–६ गुलराकी ९० वर्षीया फूखिया थरुनी खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । खोलामा नुहाउने क्रममा फूखिया बगेर बेपत्ता भएकी थिइन् । शव झण्डै सात सय मिटर तल भेटिएको थियो ।
लगातारको वर्षाका कारण कैलालीको दक्षिणी भेगका बस्ती डुबानमा परेको छन । भजनी नगरपालिकाका केही स्थान डुबानमा परेका हुन् । जानकी गाउँपालिकामा बाढीले करिब डेढ सय घर डुबानमा परेका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अनुसार वडा नं. ४ र ७ को बस्तीमा बाढी पसेको छ ।
जोशीका अनुसार वडा नं. ४ मा गिदरपुर, खरैला गाउँका ८० र वडा नं. ७ मा जवलपुर, शंकरपुर, मुनुवा गाउँका ५८ घर डुबानमा परेका छन । गाउँपालिकाका अन्य वडामा समेत थप केही घर डुबानमा परेका छन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोली उद्दारका लागि पुगेको छ । गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले स्थानीयका धेरै घर डुबानमा परे पनि सबैलाई सुरक्षित स्थानमा सारिएको बताए । ‘आफू लगायत उद्दार टोली सबैतिर पुग्यौं । धेरै घरहरु डुबानमा परेका छन् । सबैजना सुरक्षित हुनुहुन्छ’, चौधरीले भने, ‘कतिपय घरमा खाद्यान्नलगायत बगाएको छ, क्षतिको विवरण भने अझै आउन सकेको छैन ।’ कुलरीया कुलामा आएको बाढी गाउँ पसेको हो ।
यहाँ वर्षेनी कुलरीया कुलाले बाढीको समस्या निम्त्याउने गरेको छ । उता, भजनी नगरपालिका वडा नं। ३, वडा नं. ८ का गाउँमा बाढी बसेको छ । स्थानीय खेमराज पाण्डेले दिएको जानकारी अनुसार कान्द्रा, पथरैया, काँढा नदीमा पानीको सतह बढ्दै जान थालेपछि स्थानीयहरु हुलाकी सडकमा आएका छन् ।
यता, कर्णाली नदीले टीकापुर नगरपालिका वडा नं. ५ शाहीपुरमा निरन्तर कटान जारी राखेको छ । नदीमा पानीको बहाव बढेसँगै किनार छेउको भूभाग तीब्र कटान भइरहेको छ । रानी जमरा कुलरीया सिँचाइ आयोजना र स्थानीयले नदी कटान नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । नदीमा पानीको बहाव उच्च भएसँगै कटान नियन्त्रणको प्रयास विफल हुँदै गएको स्थानीय केशर रावलले बताए ।
आयोजनाले ठूल्ठूला ढुंगा र स्थानीयले बोरामा बालुवा भरेर नदी कटान नियन्त्रणको प्रयास गरिरहेका छन् । नदीको बहावले ढुंगा र बालुवा भरेका बोरा बगाउन थालेपछि स्थानीय त्रसित छन् । सो क्षेत्रमा नदीले कटान गरे टीकापुर नगरपालिका वडा नं. ५, ६, ७ र ८ का अधिकांश गाउँमा कर्णाली पस्नेछ । जिल्ला प्रशासन कार्यालय कैलालीले नदी कटान तीब्र भएसँगै ती वडाका बासिन्दालाई सजग रहन अनुरोध गरेको छ । टीकापुर नगरपालिका वडा नं. ७ ले सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।