स्प्रिङडेल स्कुलका विद्यार्थीले निर्माण गरेको सर्टमुभि ब्रिटिस काउन्सिलको टप–१५ मा छनोट

स्प्रिङ डेल एकेडेमी नेपालगन्जका विद्यार्थीले तयार पारेको सर्टमुभिको दृश्य

नेपालगन्ज : स्प्रिङ डेल एकेडेमी नेपालगन्जका माध्यमिक तहका विद्यार्थीले तयार पारेको सर्टमुभि ब्रिटिस काउन्सिल नेपालको प्रतिष्पर्धामा छनोट भएको छ ।
बेलायतको इन्टु फिल्मले ब्रिटिस काउन्सिल नेपालसँगको सहकार्यमा जलवायु परिवर्तनका विषयमा विद्यार्थीलाई सर्टभुमि निर्माण गर्न आव्हान गरेकोमा टप–१५ मा छनोट भएको निर्माता सुप्रिया रावलले बताइन् । उनले भनिन्, ‘देशभरीबाट ५० वटा सर्टमुभि प्रतिष्पर्धामा सहभागी भएकोमा पश्चिम नेपालबाट हामी मात्र छनोट भएका हौं ।’
कक्षा १० मा अध्ययनरत कुशल धामी र सुप्रिया रावलले भिडियो खिच्नेदेखि सम्पादनसम्मको काम गरेका छन् । कक्षा ११ की उपासना शाह र कक्षा १० का विपिन खड्काले फिल्ममा सघाएका छन् । ‘क्लाइमेट चेञ्ज इन नेपाल ः टाइम इज रनिङ आउट…’ शीर्षकमा नेपाली भाषामा तयार गरिएको सर्टभुभिमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा परेका प्रभावलाई नेपालगन्ज उपमहानगरपापलिकाका किसानको समस्या दर्शाइएको छ । २ मिनेट ५१ सेकेण्डको सर्ट मुभिमा जलवायु परिवर्तनका कारण रोपाइँका बेलामा वर्षा नहुँदा र अतिवृष्टि हुँदा बालीनाली नष्ट भएको कुरा देखाइएको छ । अर्का निर्माता धामीले झन्डै एक साताको समय लगाएर सर्टमुभि तयार गरेको बताए । उनले भने, ‘भोटिङमा अहिलेसम्म त हामी नम्बर १ मा छौं । भिडियोलाई लाइक र शेयर गरिदिनुभयो भने पक्कै टप–५ हुन्छौैं भन्नेमा ढुक्क छौं ।’
ब्रिटिस काउन्सिलले भिडियोमा लाइक भोटिङका आधारमा १५ वटा सर्टमुभिमध्ये ५ वटालाई पुरस्कृत गर्ने विद्यालयका प्रिन्सिपल शरदचन्द्र रावलले बताए । उनले भने, ‘हामीले फिल्म बनाउन सघाएका छौं । विद्यार्थीलाई हौसला बढाउन सबैले भिडियोलाई लाइक र शेयर गरेर सहयोग गर्न अनुरोध गर्छु ।’ (हेर्नुस्, यस्तो छ, भिडियो : https://www.facebook.com/watch/?v=1933820983444462)

Leave a Reply

Your email address will not be published. Required fields are marked *