डुडुवा गाउँपालिकामा न बोर्ड, न नागरिक वडापत्र
रमेशकुमार यादव । साहपूर्वा
‘डुडुवाको कार्यालय कहाँ छ ?’, काम विशेषले बाँकेको डुडुवा गाउँपालिकामा जाने सेवाग्राहीले वडाका जनप्रतिनिधिसँग यसरी नै सोधेर जान्छन् । जनप्रतिनिधि निर्वाचित भएर आएको ४ वर्ष पूरा भइसक्दा पनि गाउँपालिकाको कार्यालयको न बोर्ड छ न त नागरिक वडापत्र नै छ ।डुडुवा–३ का वडा अध्यक्ष भण्डारीलाल यादव भन्छन्, ‘सेवाग्राहीलाई गाउँपालिका पठाउँदा कार्यालय कहाँ छ ? हामीले कसरी थाहा पाउने ? कार्यालयको बोर्ड पनि छैन भनेर गुनासो गर्छन् । हामीले बाटो देखाइदिनुपर्छ ।’
डुडुवा–४ साहपूर्वामा गाउँपालिकाको अस्थायी कार्यालय छ । जहाँ गाउँपालिकाको कार्यालय हो भनेर थाहा पाउने कुनै संकेत र चिन्ह भेटिदैन । गाउँपालिकाको वेभसाइटमा भने गाउँपालिकाको कार्यालयमा बनकट्टीमा रहेको उल्लेख छ । कार्यालय बाहिर एउटा फलामे स्ट्यान्ड छ । यो वोर्डको स्ट्यान्ड हो कि सूचना बोर्ड छुट्टाउन सकिँदैन ।
सरकारी कार्यालय हो भनेर थाहा पाउन नेपालको राष्ट्रिय झन्डा फहराइरहेको छ । झन्डा त छ तर रंग उडिसकेर नेपालको हो कि अरु नै देशको ठम्याउन सकिँदैन । गाउँँपालिका उपाध्यक्ष साहिदा बानो कर्मचारीले ध्यान नदिएको बताउँछिन् । उनले भनिन्, ‘यो काम र कर्तव्य कर्मचारीले पूरा गर्नुपर्ने हो ।’