शुक्रबारदेखि नेपालगन्ज रंगशालामा बागेश्वरी नटआउट फुटबल हुँदै

नेपालगन्ज : रोयल नेपालगन्ज फुटबल क्लबले शुक्रबारदेखि नेपालगन्ज रंगशालामा बागेश्वरी नटआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लबले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सूर्यमणि अधिकारीले प्रतियोगितामा दुई विभागीयसहित १४ टिमले सहभागिता जनाउने जानकारी दिए । अध्यक्ष अधिकारीले भने, ‘लुकेर रहेको खेल प्रतिभालाई उजागर गरी राष्ट्रिय, अन्तरौष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरेका हौं ।’ क्लबले एक वर्षभित्रै बागेश्वरी गोल्डकप आयोजना गर्ने जनाएको छ । क्लबका महासचिव दीर्घराज आचार्यका अनुसार प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ र उप–विजेता टिमले ५१ हजार एक सय रुपैयाँ नगद पाउने बताए । प्रतियोगिता २१ असोजसम्म सञ्चालन हुनेछ ।