जेसीज फुटबलको उपाधि टीकापुर बसपार्कलाई

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको नारायणपुर जेसीजले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि टीकापुर बसपार्कले जितेको छ ।
जेसीज सप्ताहिक कार्यक्रम अन्तर्गत ९ असोजदेखि सञ्चालन भएको फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा नव युवा क्लब नेपाल सत्ती र टीकापुर बसपार्कले निर्धारित समयमा बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट टीकापुर बसपार्क विजय भएको हो । प्रतियोगितामा नव ज्योति युवा क्लब प्रसेनीले तेस्रोमा चित्त बुझाउनु परेको थियो । प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः ३० हजार ,२० हजार र १० हजार नगद, ट«फी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । साबिक नारायणपुर गाविसका पूर्वअध्यक्ष फकिरसिँह कडायत, नारायणपुर जेसीजका अध्यक्ष बलीराम चौधरी, उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शेरसिंह रिजाल ,सामुदायिक सहकारी संस्थाका अध्यक्ष हरिकुमार कार्की लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा जेसीज सप्ताहको अफिसियल मिडिया मेरो खुसी डटकमलाई सम्मान गरिएको थियो ।