पत्रकारलाई दुर्ब्यवहार गरेका प्रहरीलाई जिप्रका बाँकेले सोध्यो लिखित स्पष्टिकरण
नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका–२ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकारद्वय रविन्द्र घिमिरे र जावेद अन्सारीमाथि दुर्ब्यवहार गर्ने नेपाल प्रहरीका असइ एसके चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले स्पष्टिकरण सोधेको छ ।
अन्सारी अनलाइन खोजखवरका प्रकाशक तथा नेपाल पत्रकार महासंघ बाँके कार्य समिति सदस्य हुन् भने घिमिरे माउन्टेन टेलिभिजनमा कार्यरत छन् । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले मेरो खुसी डटकमसँगको भेटमा मौखिक र लिखित दुबै खालको स्पष्टिकरण सोधेको बताएका हुन् । ‘हामीले पत्रकारमाथि आक्रमण भयो भन्ने थाहा पाउने बित्तिकै सुरक्षामा खटिएका प्रहरीलाई सोधेका थियौं’, ती प्रहरीको जवाफ उदृत गर्दै एसपी अधिकारीले भने, ‘एक पटक म चिप्लिएर म उहाँमाथि ठोक्किए । मैले देखेर, तानेर, खुलमखुल्ला क्यामरा छोएको पनि छैन । धकेलेको पनि छैन । अलि टाढा टाढा बसेर कराउँ है भनेको मात्र हुँ ।’ प्रहरीले गल्ती नै गरेको भए विभागीय कारबाही गर्ने अधिकारीले बताए । घटनाबारे नेपाल पत्रकार महासंघ बाँके शाखालगायत पत्रकारका विभिन्न संघसंस्थाले विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।