मुगुमा बस दुर्घटना हुँदा ३२ को मृत्यु, १३ घाइते

नेपालगन्ज : मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । १३ जना घाइतेको उपचार जारी छ ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मध्याह्न १२ बजेतिर दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै र ८ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।