कर्णाली नदीमा पानीको बहाव खतरा तह पार ग-यो, दौलतपुरमा बाढी आउन सुरु

राजापुर : आइतबार साँझदेखिको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीले खतरा तह पार गरेको छ ।
तीन दिनदेखिको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा तह पार गरेको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार कर्णाली नदीमा पानीको सतह बढेर बाढीको जोखिम बढेको छ । नदी तटीय क्षेत्रका सनकट्टी, टीहुनी, दौलतपुर, तिघ्रा, राजापुरलगायतका स्थानमा जोखिम बढेको र सतकर्ता अपनाउन स्थानीयलाई आग्रह गर्नुका साथै स्थानीयको उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत परिचालन गरिएको छ ।
चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङका अनुसार मंगलबार बिहान १० बजे कर्णाली नदीको चिसापानीमा पानीको बहाव ११ दशमलब २० मिटर पुगेको छ । यो नदीमा पानीको बहाव १० दशमलव ८० मिटर पुगेपछि खतरा मानिन्छ । चिसापानीमा पानी अझै बढिरहेकोले बाढी आउन सुरु गरेको उनले बताइन् । बेमौसमी वर्षाका कारण हिउँद याम सुरु हुनै लाग्दा कात्तिक महिनामा कर्णाली नदीमा यस वर्षकै उच्च पानीको सतह बढेको हो ।
यसैबीच राजापुर नगरपालिका १ दौलतपुरस्थित चनौरा, सोनाहागाउँ, दौलतपुर, सोनपुरलगायतमा बाढी गाउँ पस्न सुरु गरेको स्थानीय लोकराज ढुंगानाले जानकारी दिएका छन । दौलतपुर र चनौरा जोड्ने भदाली नालामा कर्णाली नदीको पानी उल्टो बग्न सुरु गरेको र यसले थप जोखिम हुनसक्ने उनको भनाइ छ ।

कर्णाली नदी गाउँपसेपछिका दृश्यहरु । फोटो : लक्ष्मण ढुंगाना