४ दिनदेखि टीकापुरका बाढीपिडितको ‘सडक बास’
मानबहादुर ठकुल्ला । टीकापुर
घरमा पसेको बाढीको पानी ओभाएको छैन । खाने अन्न र लत्ताकपडा सबै बाढीले बगाएकोे छ । खेतको धान बगेको छ । ढुंगा र बालुवाले खेत पुरिएर नदीको बगर बनेको छ । लगाएको एकसरो लुगासहित बाढीपीडित चार दिनदेखि सार्वजनिक स्थल (सडक किनार, सामुदायिक विद्यालय) र आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
कैलालीको टीकापुर नगरपालिका–८ का ८ सयभन्दा बढी बाढीपीडितको अवस्थाबारे वडाध्यक्ष दीर्घ ठकुल्ला भन्छन्, ‘रातिको समयमा अचानक बाढी बस्तीमा पस्यो । सबैको ध्यान जिउ जोगाउनेतर्फ मात्रै रहयो । बाढी पीडितले शरीरको लुगा बाहेक केही जोगाउन सकेनन् ।’
वडाका अर्नुवा, सुनारटोल, वनगाउँ, फाँटा, तिमिल्सैना, रामडाँडा, बटनपुरलगायत गाउँका प्राय सबै घरमा बाढी पसेको छ। बाढीपीडितहरु त्रिभुवन मावि बटनपुर, कालिमाटी प्रावि कालिमाटी र वनगाउँ सुरक्षित आवास , फाँटास्थित कर्णाली पुलमा र राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुरमा बसेका छन् ।
त्यसो त, कर्णालीमा आएको बाढी टीकापुरको वडा नं. ७ र ९ का केही घरपरिवार मारमा परे । टीकापुर ७ का वडासचिव लोकबहादुर बुढाका ५० र वडा नंं. ९ मा ६० परिवार चपेटामा परेका छन। उनीहरुमध्ये धेरैजसो घर फर्किएका छन्। वडा नं. ७ का १८ परिवार मात्रै कर्णाली माविमा बसेको वडासचिव बुढाले जानकारी दिए। यी परिवारको खाद्यान्न लुगाकपडा लगायतका सामान भने बाढीले बगाएको छ । खेतबारी बगर बनेको छ । सयौं विगाह जमिनमा बाढीले ढुंगा र बालुवा थुपारेको छ।
टीकापुर–५ शाहीपुरमा रहेको तटबन्ध भत्काएर कर्णाली नदीको बाढी गाउँ पसेको हो । बाढीले सत्ती नजिकै करिव ३ सय मिटर हुलाकी सडक समेत भत्काएको छ। सो सडक भत्किएपछि बाढी वडा नं.८ का बस्तीमा छिरेको थियो। बाढी प्रभावितहरुलाई खान बस्नको निकै समस्या भएको छ। त्यसमा पनि बालबालिका, वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिहरु बढी समस्यामा छन्। उनीहरुलाई स्थानीय सरकारले चाउचाउ, चिउरा र पिउने पानी वितरण गरेको छ। * फोटो सच्चाइएको