दौलतपुर घाटमा बिजुलीको तार चुँडिदा राजापुर क्षेत्र अन्धकारमय

राजापुर : कर्णाली नदीमा आएको बाढीसँगै बर्दिया र कैलालीको टीकापुर जोड्ने दौलतपुर घाटमा मंगलबार बिजुलीको तार चुँडिदा राजापुर क्षेत्र अन्धकारमय भएको छ ।
लगातारको बर्षासँगै आएको बाढीका कारण कैलालीको टीकापुर–राजापुर ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको हो ।
टीकापुरबाट राजापुर सव–स्टेसनमा विद्युत प्रवाह हुने एक मात्र ३३ केभी प्रसारण लाइनको तीन वटा तार मध्ये एउटा तार कर्णाली नदीमा चुँडिदा विद्युत अवरुद्ध भएको राजापुर वितरण केन्द्रका प्रमुख सुनिल पौडेलले बताए । चुडिएको तार जडान गरी विद्युत सुचारुका लागि राजापुर वितरण केन्द्रका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा तार जडान गर्ने कार्य भइरहेको केन्द्रले जनाएको छ । प्रमुख पौडेलले भने, ‘सम्भवतः आजै तार जडान गरी विद्युत सुचारु गर्ने गरी हामी लागेका छौ ।

विद्युत अवरुद्ध भएपछि चारैतिर नदीले घेरिएको बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको जनजीवन प्रभावित बनेको स्थानीय समाजसेवी भोजराज जोशीले बताए । तीन दिनदेखि राजापुर क्षेत्र अन्धकारमय भएको बताउँदै बाढीका कारण यस क्षेत्रमा शुद्ध पीउने पानी, सञ्चार सेवा, कृषि कार्यलगायतमा समस्या परिरहेको बेला बिजुली बत्ती नहुँदा झनै समस्या परेको उनले दुःखेसो पोखे ।