बाढीले जिर्ण टीकापुरको हुलाकी सडकको मर्मत सुरु, शुक्रबारदेखि सञ्चालन गर्ने तयारी

मानबहादुर ठकुल्ला । टीकापुर
कर्णाली नदीको बाढीले जिर्ण बनाएको टीकापुरको हुलाकी सडकको मर्मत सुरु भएको छ । बेमौसमी वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले नदीको तटबन्ध भत्काएर बाढी गाउँ पस्दा टीकापुर ८ बनगाउँस्थित हुलाकी सडकको करिब दुई सय ५० मिटर कालोपत्रे कटान गरि बगाएको थियो । हुलाकी सडक पूूर्ण रुपमा अवरुद्ध भएको थियो ।

टीकापुर नगरपालिकाले चार वटा स्काइभेटर लगाएर सडकको मर्मत गर्ने काम बिहीबार बिहानैबाट सुरु गरेको थियो । टीकापुर ८ का वडाअध्यक्ष दीर्घबहादुर ठकुल्लाले शुक्रबारबाट सडक सञ्चालनमा गर्ने तयारी भएको जानकारी दिए । सडक अवरुद्ध भएपछि बर्दिया, बाँके आवतजावत गर्ने सयौं यात्रुलाई कर्णाली चिसापानी हुँदै लामो दुरीको यात्रा गर्नु परेको थियो । बाढीका कारण बनगाउँ फाटा र पुदालटोलमा खानेपानी र बिजुलीको समस्या रहेको बनगाउँका कृष्णगोपाल चौधरीले बताए ।