प्रधानमन्त्री देउवाद्वारा कैलालीका बाढीपीडितलाई विशेष राहात प्याकेजको व्यवस्था गर्ने घोषणा

मानबहादुर ठकुल्ला । टीकापुर
प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको टीकापुरका बाढी प्रभावितका लागि विशेष राहात प्याकेजको व्यवस्था गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका बाढी प्रभावित क्षेत्रको हेलिकोप्टरबाट हवाइ र स्थलगत निरीक्षण गरी टीकापुर–८ मा आयोजित कार्यक्रममा आफ्नो अवलोकनमा कैलालीमा सबैभन्दा बढी क्षति टीकापुरको वडा न ८ मा भएको देखेकाले यस क्षेत्रका लागि विशेष राहात प्याकेजको व्यवस्था गर्ने बताए । उनले कर्णाली नदीको कटान रोक्न दीर्घकालीन योजना बनाएर यस क्षेत्रका जनतालाई बाढीबाट मुक्ति दिनका लागि आफू सदैब तत्पर रहेको आश्वासन पनि दिए ।
प्रधानमन्त्री देउवाले टीकापुर–८, भजनी–७ चर्रामा र जानकी–९ खैरीफाँटमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । बाढी प्रभावित क्षेत्रमै हेलिकोप्टर अवतरण गरी बाढीबाट भएको क्षतिबारे जानकारी लिएका थिए ।


सो अवसरमा प्रधानमन्त्री देउवालाई टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्रबहादुर रावल, नेकपा माओवादी केन्द्रका खडकबहादुर शाह, टीकापुर ८ का नेकपा (एस)का मीनबहादुर कठायत, मुक्त कमैया शिविरबाट बाबुराम चौधरीले बाढीपीडित र बाढी प्रभावित क्षेत्रको समस्यालाई दीगो समाधान गर्न ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्रीले शुक्रबार नै बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गरेका थिए ।