पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा पर्यटनको कुम्भमेला ‘वेष्टर्न टुरिजम मार्ट’ हुँदै

नेपालगन्ज : कोरोनाबाट थलिएको पर्यटकीय क्षेत्रको उत्थानका लागि पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा वेष्टर्न टुरिजम मार्ट आयोजना गरिने भएको छ ।
नेपाल सरकारको पर्यटन मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्डको आयोजना, नाट्टा, हानलगायत पर्यटनसँग सम्बन्धित संघसंस्थाको संयोजनमा आगामी मंसिर २८–१ पुुस (डिसेम्बरको १४, १५ र १५ तारिख)मा वेष्टर्न टुरिजम मार्ट नेपाल २०२१ आयोजना गर्न लागिएको हो ।
मार्टबारे जानकारी दिन शनिबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइयो) डा.धनञ्जय रेग्मीले कोरोना कहरपछि थला परेको पर्यटन क्षेत्रको उत्थान र प्रबद्र्धन गर्न देशका ७ वटा स्थानमा मार्ट आयोजना गर्न लागेको बताए । नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँका अनुसार मार्टमा कम्तीमा पनि एक सय वटा स्टल हुनेछन् । जसमा स्वदेशी र विदेशी एयरलाइन्स, टुर, टुरिजम र ट्राभल्स व्यवसायी, प्याराग्लाइडिङ, बञ्जिजम्प, माउण्टेन प्लाइट सेवा प्रदायक, धार्मिक पर्यटकीय क्षेत्र, होटल तथा रिपोर्ट व्यवसायीका स्टलहरु रहनेछन् । यसका अलावा यार्सागुम्बा जस्ता हिमाली जडिबुटी, नेपाली हस्तकलाका सामग्रीहरु पनि रहनेछन् । मार्टमा सहभागिताका लागि भारत, बंगलादेश, श्रीलंका, भुटान, मलेसिया र थाइल्याण्डका पर्यटन व्यवसायीहरुलाई आमन्त्रण गर्ने तयारी भएको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

जनप्रतिनिधि उत्साही
पश्चिम नेपालमा पहिलो पटक वेष्टर्न टुरिजम मार्ट आयोजना गर्न लागेमा यहाँका जनप्रतिनिधि उत्साही भएका छन् । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट पश्चिम नेपालको पर्यटकीय क्षेत्रको विकासमा कोसेढुंगा हुने बताए । उनले भारतीय पर्यटकलाई मार्टले आकर्षित गर्न सक्नेमा जोड दिए । प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले पनि कोरोनाका कारण थला परेको बाँके लगायत पश्चिम नेपालको पर्यटकीय गन्तव्यको विकासमा मद्दत मिल्ने बताइन् । उनले भनिन्, ‘बाँकेमै पर्याप्त पर्यटकीय सम्भावना रहेकाले यस्ता मार्टले पर्यटकीय क्षेत्रको विकासमा मद्दत पुग्नेछ ।’ नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख डा.धवल शम्शेर राणाले क्यासिनो सिटीका रुपमा विकास भइरहेको नेपालगन्जमा हुन गइरहेको वेष्टर्न टुरिजम मार्टले पर्यटन क्षेत्रमा उत्साह बढाएको बताउँछन् ।

‘वेष्टर्न टुरिजम मार्ट’ सम्बन्धी प्रेस विज्ञप्ती :