इन्टरनेटको सही सदुपयोग गर्न किशोरीको सुझाव
नेपालगन्ज : बाँकेका किशोरीहरुले इन्टरनेटको सही सदुपयोग गर्न सरोकारवालाहरुलाई सुझाव दिएका छन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले नेपालगन्जमा किशोरीका क्लबका पदाधिकारीका लागि आयोजना गरेको मा २ दिने प्रविधिको सुरक्षित प्रयोग तथा साइबर कानुन सम्बन्धी तालिममा सो कुरा बताएका हुन् ।
सो तालिममा नेपालगन्ज उपमहानगरपालिकाका २० जना किशोरीहरुको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं. ५ का संयोजक तथा पत्रकार सोम गुरुङले कम्प्युटरका आधारभूत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साइबर कानुनबारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाइदाबारे पनि जानकारी दिएका थिए । तालिममा स्याक नेपालका सुपरभाइजर अक्लिम खानले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।
समाजमा बालविवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिकमैत्री वातावरण सञ्चालन गर्नमा मद्दत पुग्ने लगायतका उद्देश्यका साथ तालिमको आयोजना गरिएको स्याकका बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदिश थापाले बताए ।