नेपालगन्जमा खुल्यो, ‘भी-बोन’ कुर्सीको शोरुम
नेपालगन्ज : भारतीय कम्पनी भी-बोनका लग्जरियस कुर्सीको नेपालगन्जमा शोरुम खुलेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले शनिबार एक समारोहबीच शोरुमको उद्घाटन गरेका हुन् । अम्बे फर्निसिङ गार्डेन नेपालगन्जले भी–बोनका कुर्सीको शोरुम सञ्चालनमा ल्याएको हो । अम्बेका प्रबन्ध निर्देशक पंकजकुमार श्रेष्ठले ७ हजार ८ सय रुपैयाँदेखि एक लाख २९ हजार ८ सय रुपैयाँ मूल्यका १८ प्रकारका भी–बोनका सुविधा सम्पन्न कुर्सी बिक्रीमा राखिएको बताए । भी–बोनका काठमाडौं उपत्यकामा १४ वटा र १८ वटा उपत्यका बाहिर शोरुम छन् । पश्चिम नेपालमा भने नेपालगन्जमा पहिलो पटक भी–बोनले आधिकारिक डिलरमार्फत बिक्री सुरु गरेको हो । अम्बेले एक वर्षअघिदेखि नै भी–बोनका कुर्सी बेच्दै आएको थियो । भारतको पुनेमा उत्पादन हुने भी–बोनका कुर्सी सिंगापुरमा कर्पोरेट कार्यालय स्थापना गरेर विश्वका १२३ देशमा बिक्री भइरहेको भी–बोनका नेपालस्थित सेल्स म्यानेजर प्रविण श्रीवास्तवले जानकारी दिए । यो कुर्सी मानव स्वास्थ्यका हिसाबले लाभदायी भएको कम्पनीको दाबी छ ।