मायुस बर्दियाद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न

शक्ति परियार । राजापुर
बर्दियाको मानपुर युवा समाज (मायुस)ले राजापुर नगरपालिका वडा नं १० कोठियाघाट झप्टीमा निर्माण गरेको खानेपानी ट्याङ्कीको सार्वजनिक सुनुवाइ गरेको छ। ‘स्वच्छ खानेपानी, दीर्घ जीवन’ भन्ने मूल नाराका साथ मायुसले फन्ड बोर्ड काठमाडौंको आर्थिक सहयोगमा निर्माण गरेको आयोजनाको सार्वजनिक सुनुवाइ गरिएको हो । आयोजना अन्तगर्त एक सय ४५ घर परिवारका लागि खानेपानी ट्याङ्की निर्माण गरिएको छ ।

कार्यक्रममा कोठियाघाट झप्टी खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवकुमार थारुले ५४ लाख ५६ हजार नौ सय ७६ रुपैयाँ आय र ५५ लाख ४२ हजार ५ सय ९७ रुपैयाँ व्यय प्रस्तुत गरे । निर्माणमा ८५ हजार ६ सय २० रुपैयाँ बढी खर्च भएको थारुले प्रस्तुत गरेको विवरणमा उल्लेख छ। कार्यक्रममा वडा नं १० की सदस्य तथा कार्यवाहक अध्यक्ष अनारकली थारुले आगामी दिनमा खानेपानी तथा सरसफाइ आयोजनाका लागि बजेट विनियोजन गर्न लगाउने बताइन्। यो आयोजना सबैका लागि आवश्यक रहेको भन्दै स्थानीयले ध्यानाकर्षण गराउन समेत आग्रह गरिन्।
मायुस् बर्दियाका अध्यक्ष शशीराम विकले स्वस्थ जीवन जीउनका लागि स्वच्छ पानी पिउन जरुरी भएको भन्दै खानेपानीलाई पहिलो प्राथमिकता दिदैं आएको बताए । मायुस् बर्दियाका आयोजना टीम लिडर प्रेमलाल थारुले स्वस्थ रहन सफा पानीको प्रयोग जरुरी रहेको बताए। घर–घरमा खानेपानीको व्यवस्था भएपछि स्थानीय हर्षित भएका छन्।