देउवाले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने

नेपालगन्ज : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । कूल खसेको चार हजार ६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन सकेनन् । सभापतिका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये चार हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् दुई हजार ३४० मत आवश्यक थियो तर सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन् भने कोइरालाले एक हजार ७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरे । अब देउवा र कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ ।