सामुदायिक वन किनारका ५ गोठ भत्काइयो

रमेशकुमार यादव । बालापुर
बाँकेको बभनपूर्वा सामुदायिक वनले स्थानीयले वनको जग्गा अतिक्रमण गरेर बनाएका ५ वटा गोठ भत्काएको छ ।
डुडुवा गाउँपालिकाको वडा न ४ र ५ मा पर्ने बभनपूर्वा सामुदायिक वनको किनारमा मिलनचोक, छग्रहवा, हात्तीसार बालापुरका स्थानीयले गोठ निर्माण गरेकाका गोठमध्ये २ वटामा आगो लगाएर र ३ वटा गोठका खाँबाहरु काटेर भत्काइएको बालापुरका स्थानीय बाबादिन यादवले जानकारी दिए ।
सामुदायिक वनका अध्यक्षका पति भिखु वर्मा नेतृत्वको टोलीले गोठ भत्काएका हुन् । स्थानीयले वर्षौदेखि बसिरहे पनि बिना कुनै सूचना गोठ भत्काइएको जनाएका छन् । डिभिजन वन कार्यलय नेपालगन्जले सामुदायिक वन किनारमा अतिक्रमण गरेर बनाइएका गोठ जलाउने र खाँबो काट्नु अघि जानकारी दिनुपर्ने जनाएको छ ।


कम्दीको मिलन चोकमा पनि यही वनको जग्गा अतिक्रमण गरेर घर बनाइएका छन् । डुडुवा गाउँपालिका उपाध्यक्ष साइदा बानो भन्छिन्, मिलनचोकका ठूल्ठूला घर भत्राउ । अनि मात्र साना झुपडी भत्काउँदा सबैलाई समान न्याय हुन्छ । सूचना बिना एक्कासी घोठ भत्किएको र जलाउनु राम्रो काम भएन । राप्ती नदीले जग्गा कटान गरेकाले स्थानीयले जंगल किनारमा ०७० सालदेखि गोठ बनाएर बसेका थिए ।