कांग्रेस सभापतिमा दोस्रो पटक देउवा निर्वाचित

नेपालगन्ज : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् । यसअघि २०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले सभापति जितेका थिए ।
मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापति बनेका हुन् । ४ हजार ६२३ मत खसेकोमा देउवाले २ हजार ७३३ मत पाए भने निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १ हजार ८५५ मत पाए । ३५ मत भने बदर भएको छ । यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेन । दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित बनेको थियो ।