संयुक्त विद्यार्थी संगठनले गरे यातायात कार्यालयमा धर्ना

नेपालगन्ज : यातायात कार्यालयबाट प्रदान गरिने सेवा सुविधा सुधारको माग गर्दै संयुक्त विद्यार्थी संगठनले सोमबार नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्ना दिएका छन् ।
यातायात ब्यवसायीले विद्यार्थीलाई ४५ प्रतिशत छुट, जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई ५० प्रतिशत छुटका साथै यातायात ब्यवस्था कार्यालयबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने भन्दै उनीहरुले एक घण्टा विरोध जनाएका हुन् । सार्वजनिक यातायातका साधनमा नेपाल सरकारले विद्यार्थीलाई सहुलियत र जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई छुट दिने ब्यवस्था गरेको भए पनि बाँकेका यातायात ब्यवसायीले छुट नदिएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।
आफ्ना माग तत्काल पूरा नभए कडा आन्दोलनमा उत्रिने संयुक्त विद्यार्थी संगठनले चेतावनी दिएको छ । एक घण्टाको विरोध प्रदर्शनले यातायात ब्यवस्था कार्यालय बाँकेको काममा समेत बाधा पुगेको थियो ।