घाँटी रेटेर युवको हत्या प्रकरण : दासको परिवारले शव पोष्टमार्टम गर्न उठाउन दियो*
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा घाँटी रेटेर हत्या गरिएका अरुण दासको शव पोष्टमार्टम गर्न परिवारले उठाउन दिएको छ । शवलाई अपरान्ह ४ बजेतिर टीकापुर अस्पतालमा पोष्टमार्टम गर्न लगिएको इप्रका टीकापुरले जनाएको छ । फोन रेकर्डका आधारमा अभियुक्तको पहिचान भइसके पनि प्रहरीले पक्राउ नगरेको भन्दै परिवार र आफन्तले पोष्टमार्टमका लागि पनि घटनास्थलबाट शव उठाउन दिएका थिएन् ।
जानकी गाउँपालिका–९ का दासको टाउको शरीरबाट अलग पारिएको अवस्थामा शव फेला परेको थियो । हत्यापछि मनोज नाम गरेका युवकको फोन रेकर्ड सार्वजनिक भएको छ । उनले फोनमा टाउको छिनालेर सीमा कटिसकेको बताएका छन् । फोन रेकर्डमा घाँटी र शरीर अलग पारेको बताएका छन् । हत्या लागूऔषधको कारोबारसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । दासलाई रुखमा बाँधेर नग्न बनाइएको र त्यसपछि विभत्स तरिकाले हत्या गरेको खुलेको छ। हत्या गरिएका दास परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् । आमा बुवा र दाइ भारतमा बस्दै आएका छन् । घटना योजनाबद्ध तरिकाले भएको खुलेको छ। अभियुक्तले सुमित दाइको नाम लिएका छन् । उनले घाँटी र शरीर अलग भएको र आफू फरार भइसकेको बताएका छन् । उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घटनामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घटनाका बेलामा विभिन्न व्यक्तिसँग समेत विवाद भएको नामसहित उल्लेख गरेका छन् । फोन रेकर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ ।