अर्जुन हत्या प्रकरणः ८ बुँदे मागसहित गाउँपालिका कार्यालयमा तालाबन्दी

मानबहादुर ठकुल्ला । टीकापुर

कैलालीका अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले गाउँपालिका बन्द गराएका छन् । जानकी गाउँपालिका- ९ का २५ वर्षीय अर्जुन दासको हत्या भएको एक हप्ता पुग्न लाग्दासम्म पनि संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय वासिन्दाले बिहीबार जानकी गाउँपालिका बन्द गराएका हुन् ।
स्थानीयहरुले हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेर पीडित पक्षले आन्दोलन जारी राखेका छन् । प्रशासनले अपाराधीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै पूर्वनिर्धारित कार्यक्रम अनुसार संघर्ष समितिले बिहीबार गाउँपालिकाका कार्यालयमा ताला लगाएर गाउँपालिका बन्द गरेको हो ।
मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार जानकी गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका थिए । संघर्ष समितिका संयोजक ललित परियारले गाउँपालिकाका वडा कार्यालयहरु पनि बन्द गरिएको जानकारी दिए ।आज स्थानीय सरकारलाई दबाब दिने र सोका लागि जानकी गाउँपालिकाका सबै सरकारी कार्यालय बन्द गर्ने , शुक्रवार भुपेन्द्र बडुवाल र अर्जुन दासको न्यायका लागि कैलालीको लम्की क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र बजार दिन भरि बन्द गर्ने संघर्ष समितिले जानकारी दिएको छ। पुस ३ गते शनिवार जानकी गाउँपालिका वडा नं.९ मा रहेको स्थानीय अमरावती सामुदायिक वनमा खुट्टा पछाडि बाँधेर नग्न बनाएर शरीरबाट टाउको अलग गरेर हत्या गरेको अवस्थामा अर्जुन दासको शव फेला परेको थियो ।
विभत्स हत्या गरिएको अर्जुनको शव घटनास्थलबाट पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिए पनि शवलाई परिवारले अहिलेसम्म बुझेको छैन ल। दासको हत्याको जिम्मेवारी लिएको अडियो उनकी श्रीमतीको फेसबुक म्यासेन्जरमा समेत पठाइएको थियो । सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ । घटनापछि उनीहरू गौरीफन्टा नाकाहुँदै भारत प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले हत्यामा संलग्नहरूको पहिचान भइसकेको तर उनीहरु फरार भएकाले खोजी जारी राखिएको बताए । पीडित परिवारले हत्यामा संलग्नलाई कानुनी कारबाही र अन्य माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । अर्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ ।