टीकापुर-लम्की क्षेत्रमा श्रृङ्खलाबद्ध अपराध : अपराधी भारतमा लुक्दै

मानबहादुर ठकुल्ला । टीकापुर

१२ कात्तिकको राति टीकापुरमा चक्कु प्रहारबाट १८ वर्षीय अनुप साउँदको हत्या भयो। आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउँदले चक्कु प्रहार गरी अनुपको हत्या गरेकाे प्रहरी दाबी छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको थियो।
यो घटनाको ११ दिनपछि २३ कार्तिक ०७८ मा कैलालीको लम्कीका भुपेन्द्र बडुवालको टीकापुरमा चक्कु र धारिलो हतियार प्रहार गरेर हत्या गरियो।  घाइते २२ वर्षीय बडुवालको पनि उपचारका क्रममा टीकापुर अस्पतालमा ‍उनको मृत्यु भएको थियो । दुई समूहको रिसइबीका कारण भुपेन्द्रमाथि आक्रमण भएको थियो । अभियुक्तहरू सबै भारतमा लुकेका छन्।
भुपेन्द्र हत्याको ९ दिनपछि ३ पुसमा जानकी गाउँपालिका-९ का अरूण दास रूखमा बाँधेर घाँटी छिनालेर हत्या भयो । अभियुक्तहरू भारत फरार रहेको अडियो फेला परेको छ ।
यी त केही प्रतिनिधिमूलक अपराधिक घटना हुन् । पछिल्लो समय निर्मम तरिकाले हत्या हुन थालेपछि कैलालीको टीकापुर-लम्की क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयमा त्रासमा छन् ।
सबै हत्या तथा अपराध लागूअौषधसँग जाेडिएर हुने गरेका छन् । जसका पछाडि आपराधिक समूहहरू सक्रिय छन्। कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका यी तीन स्थानीय तहको पूर्वमा कर्णाली नदी, दक्षिणमा मोहना नदी छन्। कर्णाली तरेपछि बर्दिया हुँदै बाँके पुगिन्छ। नेपालगन्ज हुँदै रूपैडिया नाका प्रयोग गरी अपराधीहरू भारत जाने गरेका छन्।  टीकापुरसँग जोडिएको स्थानीय तह जोशीपुर, भजनी, कैलारी र धनगढी हुँदै छाेटाे दुरिकाे हुलाकी सडकको बाटो छ। हुलाकी सडकपारि भारतीय सीमा नजिकै छ। यो रूट भएर पनि अपराधीहरू भारत जान्छन्।

पूर्वपश्चिम राजमार्ग प्रयोग गरेर कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भएर पनि कतिपय अपराधी भारत पसेका छन्।  कैलाली प्रहरीका अनुसार त्यो क्षेत्रमा अहिलेसम्म सक्दो प्रहरी परिचालन र सुरक्षा दिने प्रयास भएको छ।  यो क्षेत्रमा आपराधिक गतिविधि लगातार बढ्नुको पहिलो कारण लागूऔषध प्रयोग र कारोबार हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशी भन्छन्, ´लागूअौषधका कारण युवाहरू अपराधमा बढी संलग्न भएका छन् ।  अपराध नियन्त्रण गर्न प्रहरीले विशेष प्राथमिकता दिएको छ ।´

जसमा कुलतमा लागेका, झै-झगडा गरि रहनेहरू र लागूऔषध प्रयोगकर्ता छन् । खुला सीमा भएकाले घटनापछि अभियुक्तहरू भारत जाने भएकाले प्रहरीलाई काम गर्न कठिन भएको प्रवक्ता जोशी बताउँछन् ।