नेपालगन्जमा फोहर व्यवस्थापन गर्ने कर्मचारीलाई वार्षिक तलबभत्तामा मात्रै ४ करोड खर्च !

नेपालगन्ज : नेपालगन्ज उप-महानगरपालिकामा फोहरमैला व्यवस्थापन गर्ने कर्मचारीको तलबभत्ता मात्रै पनि वर्षमा चार करोडभन्दा बढी खर्च हुने गरेको छ ।
उपमहानगरपालिकाले सरसफाइ शाखामा एक इन्जिनियर र २ शाखा अधिकृतसहित ४५ स्थायी कर्मचारी, करारका ३० कर्मचारी र ज्यालादारीका ८१ कर्मचारी गरी १५६ जनाको तलब, महंगी भत्ता, स्थानीय भत्ता, ग्रेडलगायतका सेवा सुविधामा मासिक ३४ लाख नौ हजार ४ सय १ रुपियाँ मात्रै खर्च हुने गरेको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले बुधबार जारी विज्ञप्तीमा जनाएका छन् । यो रकम १२ महिनाको जोड्दा ४ करोड नौ लाख १२ हजार ८१२ हुन आउँछ । इन्धन र गाडी मर्मतलगायतको खर्च जोड्दा भने यो रकम अझ बढी हुन आउँछ ।
देशका विभिन्न सहरमा ल्याण्डफिलसाइट निर्माण कार्य पूरा नभएको अवस्थामा नेपालगन्जमा भने ल्याण्डफिलसाइट निर्माण भइ सञ्चालनमा आइसकेको, सुन्दर, सफा र हरित सहर बनाउनका लागि सुरुवतदेखि नै पहलकदमी अघि बढाइएको प्रवक्ता रिजालले विज्ञप्तीमा उल्लेख गरेका छन् । सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत नगरका केही वडामा पाइलट प्रोजेक्टका रुपमा घरघरबाट फोहर संकलनका लागि गैरसरकारी संस्था छनौट गरेर फोहर व्यवस्थापन गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।