कर्णाली प्रदेश मेडिकल स्टोर*मा निस्सासिएर चार जनाको मृत्यु, तीनजना घाइते

नेपालगन्ज : कर्णाली प्रदेश मेडिकल स्टोर नेपालगन्जको क्वाटरमा निस्सासिएर एकै परिवारका चार जनाको बुधबार राति मृत्यु भएको छ ।
क्वाटरमा सुतेका स्टोर शाखामा कार्यरत २३ वर्षिय धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो । मृत्यु हुनेमा धनप्रसादका तीन महिनाको छोरा इप्सन, आमा कोपिला र दिदी नन्दाकली रहेको प्रहरीले जनाएको छ । धनप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाइ नरेन्द्र घाइते छन् । अचेत अवस्थामा भेटिएका उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एकजना सिकिस्त रहेको अस्पतालका प्रमुख फिजिशियन कन्सल्टेन्ट डा. राजन पाण्डेले जानकारी दिए ।
बिहीबार बिहान सुनसान अवस्था देखिएपछि करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा घटना भएको थाहा भएको थियो । चिसो बढेपछि टीनको डब्बामा कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक खिमबहादुर घर्तिमगरले बताए । घटनाको बारेमा सुक्ष्म रुपले अनुसन्धान सुरु गरिएको र पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा भन्न सकिने उनले बताए । *सच्चाइएको