नेपालगन्जका ११ वडा बालविवाह मुक्त, एकैदिन ७ वडा बालविवाह मुक्त घोषणा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामध्ये ११ वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । शनिबार एकैदिन ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएका थिए ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्री वास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामसुरेश यादव लगायतको उपस्थितिमा उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले शनिबार नगरका ३, ४, ९, ११, १८, २० र २१ वडालाई बालविवाह मुक्त वडा घोषणा गरेकी हुन् । उपप्रमुख थापाले यो घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगन्ज बनाउन मद्दत पुग्ने बताइन् । उनले बालविवाहलाई शून्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको खाँचो रहेको बताइन् । नगरका १, २, १० र १२ नं. वडा यसअघि नै बालविवाह मुक्त घोषणा भइसकेका छन् ।