खजुरामा सुरु भयो बाल क्यान्सरको उपचार

नेपालगन्ज : पश्चिम तराईको एकमात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको उपचार सेवा सुरु भएको छ । अस्पतालले सेवा विस्तार गर्ने क्रममा कान्तिबाल अस्पताल काठमाण्डौको सहकार्यमा बालबालिकाको क्यान्सरको उपचार गर्ने सेवा विस्तार गरेको हो ।
सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक कृष्ण आचार्यले कान्तिबाल अस्पताल काठमाण्डौसंगको सहकार्यमा विरामीको उपचारलाई सहज बनाउने गरी बाल क्यान्सरको उपचार सेवा सुरु गरिएको बताए । ‘यसले यसअघि बालबालिकाहरुको क्यान्सरको उपचार गर्न विपि कोईराला क्यान्सर अस्पताल भरतपुर र कान्तिवाल अस्पताल काठमाण्डौ जानुपर्ने अवस्थाको अन्त्य भएको छ’ उनले भने ।
राजधानी बाहिर प्रार्देशीक रुपमा बाल क्यान्सरको सेवा विस्तार गर्ने सम्भावना अनुरुप दुई अस्पतालको सहकार्यमा नयाँ अभियानको थालनी भएको कान्ति बाल अस्पतालका बाल क्यान्सर विषेशज्ञ विष्णुरथ गिरीले बताए । ‘त्यसका लागि कान्तिवाल अस्पतालले सुशिल कोईराला क्यान्सर अस्पताल खजुरालाई तालिम लगायत आवश्यक सहयोग उपलब्ध गराउछौ’ उनले भने ।
अस्पतालमा सेवा विस्तार हुनेक्रम बढेपनि जनशक्ती व्यवस्थापनमा समस्या रहेको अप्ताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले बताए । दरबन्दी स्विकृतलगायत विशेषज्ञ डाक्टरको अभाव अस्पतालले झेल्दै आएको उनको भनाई छ ।