एमाले बाँकेको उपाध्यक्षमा डिल्ली बिसी निर्विरोध निर्वाचित

नेपालगन्ज : नेकपा एमाले बाँकेको उपाध्यक्षमा पत्रकार डिल्ली विसी निर्विरोध निर्वाचित भएका छन् ।

एमाले बाँकेको ८औं जिल्ला अधिवेशन निर्वाचन अधिकृत विकास आचार्यका अनुसार एक जना उपाध्यक्ष पदमा विसी बाहेक अरुको उम्मेदवारी परेको छैन । विसीलाई निर्वाचन कमिटीले उपाध्यक्ष निर्वाचित भएको घोषणा गर्न मात्र बाँकी रहेको छ ।
अध्यक्ष पदमा भने किश्मतकुमार कक्षपति, निरक गुरुङ, र अशोक कर्माचार्यको उम्मेदवारी परेको छ । सचिवमा रत्न खत्री, बलराम भट्टराई र भीम केसीले उम्मेदवारी दर्ता गरेका छन् । २ सहसचिव पदमा दीपक वर्मा, भूमिसरा धिताल, अक्षरी पोखरेल, मनोजकुमार वर्मा र तुल्सीराम थारु उम्मेदवार बनेका छन् । शनिबार अपरान्ह सर्वसम्मतिका लागि अध्यक्ष मण्डलका तर्फबाट एमाले केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकालले अध्यक्षमा कक्षपति, उपाध्यक्ष विसी, सचिव खत्री, उप-सचिवमा दीपक र भूमिसराको नाम प्रस्ताव गरेका थिए । उपाध्यक्ष वाहेकका पदमा सर्वसहमति नजुटेमा आइतबार मतदान हुनेछ । १२० सदस्यीय जिल्ला कमिटीमा २५० जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।
८औं जिल्ला अधिवेशन प्रमुख निर्वाचन अधिकृत तेजकुमार धितालले शनिबार साँझ सूचना प्रकाशित गरी पदाधिकारी र सदस्य पदका उम्मेदवारको नामावली उपर दाबी, विरोध वा उम्मेदवारी फिर्ता तथा संशोधनका लागि आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म निर्वाचन कमिटीको कार्यालयमा उजुरी, संशोधन र उम्मेदवारी फिर्ताको सूचना गर्न आग्रह गरेका छन् ।