अन्ततः १२० सदस्यीय एमाले बाँके जिल्ला कमिटी ‘निर्विरोध’, २९ गते सपथ (विजेताको सूचीसहित)

नेपालगन्ज : नेकपा एमाले बाँकेको अध्यक्ष किश्मतकुमार कक्षपतिसहित १२० सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको छ ।
पार्टीको ८औं जिल्ला अधिवेशनको बन्द शत्रमा अध्यक्ष मण्डलका तर्फबाट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सूर्य ढकालले सहमतिका लागि प्रस्ताव गरेका पदाधिकारीसहितका उम्मेदवारमा सामान्य हेरफेर बाहेक सबै निर्विरोध भएका हुन् । प्रस्तावमा असहमति राखेर उम्मेदवारी दिएका सबैैले फिर्ता लिएका थिए । अधिवेशनका प्रमुख निर्वाचन अधिकृत तेजकुमार धितालका अनुसार अध्यक्ष कक्षपति, उपाध्यक्ष डिल्ली विसी, सचिव रत्न खत्री, उप–सचिवद्वय दीपक वर्मा र भूमिसरा धिताल निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा भने विसीको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षका अन्य २ उम्मेदवार निरक गुरुङ र अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिएका थिए । त्यसैगरी सचिव पदका २ उम्मेदवार बलराम भट्टराई र भीम ओलीले पनि उम्मेदवारी फिर्ता लिए । उपसचिव पदका अन्य ३ उम्मेदवार अक्षरी पोखरेल, मनोजकुमार वर्मा र तुल्सीराम थारुले पनि अन्तिममा उम्मेदवारी फिर्ता लिएपछि पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । सबैभन्दा धेरै आकांक्षी २४ जनाको पुरुष खुला केन्द्रीय सदस्यमा थिए । भूगोगमा पनि आकांक्षी निर्धारित संख्या भन्दा बढी थियो । ८औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको २९ पुसको दिउँसो १ बजे नेपालगन्जको पासाङ ल्हामु मार्गस्थित पार्टी कार्यालयमा सपथ ग्रहण कार्यक्रम रहेको निर्वाचन कमिटीले जनाएको छ ।