देशभर माघे संक्रान्ति धुमधामसँग मनाइयो

नेपालगन्ज : आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति देशभर धुमधामका साथ मनाइएको छ । कोरोनाको कारण माघे संक्रान्तिमा लाग्ने अधिकांश मेला र महोत्सवहरु भने हुन सकेनन् ।
माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् । सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रीष्म बढ्दै जाने मान्यता छ ।आजको दिन तिलको पकवानका लागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरु आजको विशेष परिकार हो । घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु खाने गरिन्छ । तरुल, सख्खरखण्ड, पिँडालु पनि उसिनेर खाइन्छ । खिचडी पनि खाइन्छ । तील र चाकु मिसाएको परिकार तथा तरुल खानाले जाडोमा शरीरलाई न्यानो हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदिबाट समेत राहत मिल्छ। माघीलाई थारु समुदायले भने नयाँ वर्षको रुपमा पनि मनाउँछन् । थारु समुदायमा चामलको ढिक्री बनाइन्छ ।